४ श्रावण २०८३, सोमबार

 

कम्युनिस्ट पार्टीमा जनवाद समाप्त भयो, केन्द्रीयता मात्रै बाँच्यो

समयको आफ्नो गति हुन्छ । बितेको समय इतिहास बनेर पर्खिराख्छ । वर्तमानको समयले सपनाहरू देख्छ । भविष्य सपनाको कार्यान्वयनको महत्त्वाकांक्षा र आकांक्षा बोकेर बसेको हुन्छ ।कमरेड पुष्पलाल, जसले नेपालमा सर्वहारा वर्गको अग्रदस्ता निर्माण गर्ने, त्यसको स्थापना गर्ने कार्यको नेतृत्व गर्नुभयो । उहाँ लगायत सम्पूर्ण संस्थापकहरूमा हार्दिक सम्मान र श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु ।

मैले आफूलाई अन्जानमा यो आन्दोलनमा समाहित गर्दैगर्दा, युवा अवस्थामा वर्ग र समाजका लागि कफन बाँधेर हजारौँ योद्धाहरूको बिचमा लडाइँको मोर्चामा अगाडि बढ्दैगर्दा म आफूलाई अत्यन्त खुसी र उत्साहित पाउँथेँ । गर्वका साथ मैले आफ्नो ड्युटी पूरा गर्थें ।

आज पुँजीवादी जनवादी क्रान्तिले एउटा चरण पार गरिसकेपछि चौबाटोमा हराएको बटुवाजस्तो यता जाउँ कि उता जाउँ भनेर अल्मल्लिरहेको कम्युनिस्ट आन्दोलनको एउटा सदस्यका नाताले मैले आफैँप्रति एउटा प्रश्न गरिराखेको छु– किन हामी चौबाटोमा अल्मलिएका छौँ ? यो भौतारिँदै गरेको अवस्थाबाट कसरी मुक्ति मिल्न सक्छ ?

कुन दिशा समातेर अगाडि बढ्ने भन्ने परिस्थिति अहिले हाम्रो अगाडि छ । सहिदहरूले गरेको बलिदानी, घाइते योद्धाहरूको त्याग, उत्पीडित वर्ग, समुदाय, जातिले हामीप्रति गरेको विश्वासका आधारमा आफैँलाई नियालेर हेर्दा हामीले कति घोकाएका, कति आफैँ जानेका आश्वासनहरू बाँड्दै आन्दोलनलाई अगाडि बढाइरहेको त्यो क्षणलाई सम्झँदै यतिवेला आफैँ साँच्चिकै आन्दोलनको जीवनको कठघरामा उभिएको मैले महसुस गरिरहेको छु ।

यो कठघराबाट आन्दोलनलाई, इतिहासलाई, इतिहासका यी प्रश्नहरूलाई जबाफ दिन हामी सक्छौँ कि सक्दैनौं रु आज प्रश्न हामीतिर सोधिएका छन् । हामीतिर सोधिएका प्रश्नहरूको सही उत्तर दिन सक्ने आँट हामीले गर्छौं कि गर्दैनौँ ?हुन त हामी वर्तमान नेतृत्वका सहयात्री, सहयोद्धा पनि हौँ । उहाँहरूभन्दा थोरैमात्रै पछि जन्मेका हौँला, तैपनि दोस्रो पुस्ता भन्ने गरिएको छ ।

हाम्रो जिम्मेवारी आज इतिहासले गरेका प्रश्नको उत्तर दिन तयार हुने कि नहुने भन्ने प्रश्न धेरै महत्त्वपूर्ण र चुनौतीपूर्ण छ । प्रश्नको उत्तर नदिउँ, नेपाली जनताको आशा र विश्वास कम्युनिस्ट आन्दोलनप्रति हराउँदै जाने खतरा बढिरहेको छ । दिउँ भने उत्तर कतिपयलाई मन पर्दैन, तर व्यक्ति विशेषलाई मन पर्ने वा नपर्ने कुरा होइन ।

इतिहासप्रति बेइमानी गर्न पाइँदैन । उत्तर दिनैपर्छ भन्ने मैले बुझेको छु । यो विश्वासको कुरा हो । यो वर्गप्रतिको प्रतिबद्धताको कुरा हो । यो आफ्नो जीवनलाई, आन्दोलनमा बाँकी जीवनलाई समर्पण गर्ने सङ्कल्पको कुरा हो । सायद त्यही सङ्कल्प नै उत्तर हो भन्ने मलाई लागिराखेको छ । यद्यपि कतिपय विषय होलान् । म केही अनुभूतिका कुरा गर्नेछु ।

पुष्पलालले नै तय गरेको कार्यदिशाका आधारमा जनयुद्धको बाटोबाट अगाडि बढ्ने सङ्कल्प गरेर अध्यक्ष प्रचण्डकै नेतृत्वमा हामी अगाडि १० वर्षे जनयुद्धमा अगाडि बढ्यौँ ।पार्टी स्थापना गरेर अगाडि बढ्दै गर्दा कमरेड पुष्पलालले झेल्नुभएका समस्याहरू, सङ्कटहरू, हेपाइहरूलाई पार गर्दै उहाँले कम्युनिस्ट आन्दोलनको पहिलो पुनर्गठन २०२५ सालमा गर्नुभयो ।

नयाँ जनवादी क्रान्तिको कार्यदिशामार्फत सामन्तवादका विरुद्ध लड्ने कुरालाई सँगै पञ्चायतका विरुद्ध लड्नका लागि कांग्रेससँगको संयुक्त मोर्चाको कुरा कम्युनिस्ट मेनिफेस्टोको नेपालीमा अनुवाद गरेर प्रचार लगायतका महत्त्वपूर्ण रणनीतिक कार्यहरू उहाँले गर्नुभएको थियो । सम्भवतः पुँजीवादी जनवादी क्रान्ति सम्पन्न हुने चरणसम्म उहाँको मार्गनिर्देशनमा कम्युनिस्ट आन्दोलन आजको दिनसम्म अगाडि बढेको छ भन्नुपर्दछ ।

यो कम्युनिस्ट आन्दोलनलाई दोस्रो पुनर्गठनको रूपमा हामीले ४६–४७ को समयलाई भन्ने गरेका छौँ, हेर्ने गरेका छौँ । त्यहाँ दुई वटा धारा पुनर्संगठित भएका छन् ।पुष्पलालले नै तय गरेको कार्यदिशाका आधारमा जनयुद्धको बाटोबाट अगाडि बढ्ने सङ्कल्प गरेर अध्यक्ष प्रचण्डकै नेतृत्वमा हामी अगाडि १० वर्षे जनयुद्धमा अगाडि बढ्यौँ ।

जसले यो देशका उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग, समुदाय सबैलाई उत्साहित, संगठित, सचेत र आफ्नो अधिकारको लागि लड्न योग्य बनायो, सक्षम बनायो । सामन्तवादका जरा काट्दै त्यसलाई गाउँघरबाट लखेट्दै अगाडि जाने क्रममा संसदीय दलहरूलाई समेत राजतन्त्रका विरुद्ध ल्याउने एउटा मार्ग देखायो । त्यसको बलमा, जनयुद्धको जगमा जनआन्दोलनबाट राजतन्त्र अन्त्य भयो । संविधान सभामार्फत हामीले नयाँ संविधान बनायौँ । संविधानमा हामीले धेरै कुरा लेख्यौँ । जनताका धेरै अधिकार लेखेका छौँ ।

आज इतिहासको सबैभन्दा कटु प्रश्न, कम्युनिस्ट पार्टीप्रति सोझिएको प्रश्न हो– नौ–नौ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौँ रु के बदल्यौँ ?सैद्धान्तिक रूपले वास्तवमा जनवादी क्रान्तिका अथवा पुँजीवादी जनवादी क्रान्तिका जनताले पाउनुपर्ने सबै अधिकार त्यसमा उल्लेख छन् । ती मौलिक अधिकारको रूपमा संविधानका ३१ वटा धारामा हामीले उल्लेख गरेका छौँ ।

राज्यको पुनर्संरचना आंशिक रूपमा हामीले गरेका छौँ । संघीय प्रणालीको कुरा हामीले अगाडि बढाएका छौँ । समानुपातिक समावेशी प्रणालीलाई स्थापित गरेका छौँ । आज यहाँसम्म आइपुग्दा नौ पटक (संख्या तलमाथि पर्ला कि १०)  कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ ।

नौ पटक कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनिरहँदा आज बहुआयामिक गरिबीको जो अवस्था छ, उत्पीडित जाति, दलितहरूमाथिको अत्याचार जो भइराख्या छ । आज महिला हिंसाको अवस्था जे छ, विभिन्न जाति–जनजातिहरूका आफ्ना पहिचानका मुद्दा जसरी हराइराखेका छन्, लाखौँ लाख हाम्रा सहयोद्धा, युवा, भाइछोराहरू आज विदेशमा गएर विदेशको भूमिमा श्रम पसिना बगाइरहेका छन् ।

आज हाम्रो देशको जमिन बाँझो छ । खण्डहर बन्दैछ । यो अवस्थामा आज हामी छौँ । आज इतिहासको सबैभन्दा कटु प्रश्न, कम्युनिस्ट पार्टीप्रति सोझिएको प्रश्न हो– नौ–नौ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौँ रु के बदल्यौँ रु के पूरा गर्‍यौँ वा किन गरिनौँ रु यो प्रश्न गम्भीर छ । यो राष्ट्र निर्माणसँग सम्बन्धित, समाज परिवर्तनको एउटा नयाँ अभियानसँग सम्बन्धित, नयाँ विचार निर्माणसँग सम्बन्धित, समृद्धि, सुशासन, सामाजिक, सांस्कृतिक रुपान्तरणको अभियानसँग सम्बन्धित प्रश्न हो ।

यो प्रश्नको उत्तर आजका कम्युनिस्ट पार्टीहरूले दिनुपर्दछ । यो प्रश्नको जबाफ दिनका लागि कम्युनिस्ट पार्टीमा हामी आबद्ध छौँ । हामी आ–आफ्ना पार्टीभित्रका हाम्रा आचरणहरूलाई, हाम्रा व्यवहारहरूलाई, हाम्रा तरिकाहरूलाई फेर्न सक्छौँ कि सक्दैनौँ भन्ने मुख्य कुरा हो ।

संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ, तर राज्यका ऐन, कानुन, नियमहरू सो अनुरुप छैनन् ।हामीले फेर्न सक्दा यसको उत्तर आउनेछ । फेर्न नसक्दा यथास्थितिको आज गोल्चक्करमा कम्युनिस्ट आन्दोलन जहाँ हराउँदै छ, त्यहीँ विघटन भएर समाप्त हुनेछ ।

यसलाई विघटन हुन दिने कि जनताको नयाँ विकल्पको रूपमा, जनताको नयाँ मार्गदर्शनको रूपमा, जनताको नयाँ विश्वासको रूपमा अगाडि लैजाने भन्ने प्रश्न खडा भएको छ । यही वरिपरिको बहस सायद यो स्कुल अफ मार्क्सिजमले गर्न खोजेको हो र हामीलाई बोलाएर यहाँ कठघरामा उभ्याइराखेको छ ।

संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ, तर राज्यका ऐन, कानुन, नियमहरू सो अनुरुप छैनन् । सो अनुरुप हामीले बनाएका छैनौँ । हामी संसदमा छौँ, सरकारमा छौँ । हामीले त्यो बनाएका छैनौँ । यहाँको जनताको जीवन, श्रमिकहरूको जीवन बदल्नेतिर होइन, ती ऐन कानुनहरू यहाँका दलाल पुँजीपति वर्गको पक्षपोषण गर्ने, उनीहरूको लुट र ब्रम्हलुटलाई टेवा पुर्‍याउने खालका आधारका रूपमा तयार भएका छन् । समाजवाद सम्बन्धी संवैधानिक स्वीकारोक्तिलाई आज कार्यान्वयन गर्न सक्ने हैसियतमा कम्युनिस्ट पार्टीहरू देखिएन, सम्भव भएनन् । सबैभन्दा ठुलो अहिलेको समस्या भनेको यही हो ।

यसलाई कसरी सुधार गर्ने ? राज्य पुनर्संरचनाको कुरा हामीले गरेका थियौँ । राज्य पुनर्संरचनाको कुरा अगाडि बढ्दै गर्दा त्यसलाई पूर्ण रूपमा पुनर्संरचना गर्नतिर हामी लागेनौँ । हामी हतारहतारमा सत्ताको कुर्सी प्राप्त गर्नतिर लाग्यौँ । सत्ताको कुर्सी प्राप्त गर्नका लागि राज्य पुनर्संरचनाको एजेन्डालाई हामीले थाँती राख्दियौँ । जसले गर्दा नयाँ संविधानको कार्यान्वयन गर्न आवश्यक पर्ने राज्य संयन्त्र, संरचना, संस्थाहरू पुरानै माइन्डसेटमा रहे ।

राज्य पुनर्संरचनाको एजेन्डालाई छोडेर जसरी हामीले संविधान बनायौँ, त्यसले उत्पन्न गरेको एउटा ठुलो समस्या आज हामीले भोगिराखेका छौँ ।त्यो पूरानै माइन्डसेटको संस्था र संरचनाहरू नयाँ संविधानको कार्यान्वयन, जनताको अधिकारको कार्यान्वयन गर्ने मामिलामा किञ्चित तयार छैनन् । बरु राजनीतिक नेतृत्व उनीहरूका कारिन्दाजस्ता भएर अगाडि बढ्ने परिस्थिति आयो । पुरानै राज्य संयन्त्रले राजनीतिक नेतृत्वलाई नै परिचालन गर्‍यो । आज व्यक्तिगत हित, स्वार्थमा पार्टनरसिप गरेर एकले अर्कालाई प्रशंसा गर्ने, एकले अर्कालाई रक्षा गर्ने खालको अवस्था सिर्जना भयो । यो दुर्भाग्यपूर्ण स्थिति हो ।

राज्य पुनर्संरचनाको एजेन्डालाई छोडेर जसरी हामीले संविधान बनायौँ, त्यसले उत्पन्न गरेको एउटा ठुलो समस्या आज हामीले भोगिराखेका छौँ । त्यसैगरी आन्दोलनका समयमा, शान्ति प्रक्रियामा आएपछि हामीले जनतालाई बाँडेका आश्वासन अथवा हामीले संविधानमा लगेका मौलिक अधिकार अथवा एजेन्डाहरूको बारेमा पार्टीमा छलफल र बहस हुनुपर्थ्यो ।

यो देशको अर्थतन्त्रलाई कसरी विस्तार गर्ने ? कसरी त्यसलाई समृद्ध गर्ने ? आज विदेशमा रहेका लाखौँ युवा त्यहाँ जानु परेको कारण के हो ? तिनलाई हाम्रो देशमा भएका पर्याप्त साधन स्रोतहरूको उपयोग गरी, त्यसलाई परिचालन गरी, त्यसको सकारात्मक दोहन गरी लाखौँ रोजगारी निकाल्न के–के गर्नुपर्छ भनेर पार्टीमा यी एजेन्डा बन्नुपर्थ्यो । पार्टीमा यी एजेन्डा बनेर घण्टौँ, धेरै दिनसम्म बहस हुनुपर्थ्यो ।

तर हामीले त्यो गर्ने कष्ट कहिल्यै गरेनौँ । हामीले बहस त गर्‍यौँ । हामीले चार महिनाको पनि बहस गर्‍यौँ, तर बहस केमा गर्‍यौँ रु कसलाई कुन पदमा राख्ने रु कसलाई कुन मन्त्री बनाउने रु कसलाई के नियुक्त गर्ने भन्ने कुरामा हाम्रा बहस भए । हाम्रा बहस गठबन्धन आफ्नो नेतृत्वमा कसरी ल्याउने रु ल्याइसकेपछि कसरी टिकाइराख्ने रु कसरी राज्यको दोहन गर्ने रु कसरी विनालगानी अरबपति बन्ने भन्ने खालका चरित्रहरू देखा परे । यो वास्तविकता हो ।

आज कम्युनिस्ट पार्टीभित्र आलोचना सुन्न पनि सकिँदैन । प्रश्न सुन्न पनि तयार भइँदैन । जनताले प्रश्न गर्छ । हामी कान थुनेर बस्छौँ ।यो बहसबाट पार्टीको सिङ्गो शक्तिलाई यो परिवर्तनको बाहक बनाएर अगाडि लग्ने कुरामा बाधा पर्‍यो । बिस्तारै पार्टीमा नेतृत्वको वरिपरि गोलबन्द हुने र नेतृत्वको जयजयकार गर्ने, दलाली गर्ने नतमस्तक प्रस्तुत गर्ने एउटा प्रवृत्तिको विकास भयो ।

स्वाभाविक रूपले नेतृत्वमा पनि जसले नजिकबाट प्रशंसा गर्छ, उसैलाई आशिर्वाद दिने खालको प्रवृत्ति मौलायो । त्यो प्रवृत्तिले आज कम्युनिस्ट सत्व हराएको छ । कम्युनिस्ट पार्टीभित्र आलोचनाको महत्त्व छ । आलोचना महत्त्वपूर्ण सहयोग हो । प्रश्नहरू महत्त्वपूर्ण शिक्षा हुन् ।आज कम्युनिस्ट पार्टीभित्र आलोचना सुन्न पनि सकिँदैन । प्रश्न सुन्न पनि तयार भइँदैन ।

जनताले प्रश्न गर्छ । हामी कान थुनेर बस्छौँ । यो खालको मनोवृत्ति विकास हुँदा पार्टीमा जनवादी केन्द्रीयताको कुरा हामीले गरिरहेका छौँ । जनवाद समाप्त भयो । केन्द्रीयतामात्रै बाँच्यो । केन्द्रीयता केन्द्रीयतामा रहेन, नोकरशाही केन्द्रीयतामा बदलियो । नोकरशाही केन्द्रीयतामा सीमित भएन । त्यो सामन्ती निरंकुशतामा बदलियो । कम्युनिस्ट पार्टी फेरि सामन्ती झुण्डहरू जस्ता बन्न थाले । यो आजको अवस्था हो । यसमा मेरो ठाउँमा मेरा गल्ती छन् । त्यसको प्रतिशत मैले पनि लिनुपर्छ ।

म कसै व्यक्ति विशेषलाई दोष लगाइरहेको छैन । कुनै एउटा व्यक्तिको कुरा होइन । यो प्रणालीमा यो खालको परिस्थिति पैदा भइसकेपछि यसलाई बदल्ने कसरी भन्ने बहस आजको आवश्यकता हो । यो प्रणालीलाई बदल्न संसदमा बहसको कुरा म गर्न चाहन्छु । संसद जनतालाई स्कुलिङ गर्ने एउटा थलो हो, विश्वविद्यालय हो । राष्ट्रिय–अन्तर्राष्ट्रिय र एउटा सन्देश दिने थलो हो संसद भनेको, तर संसदमा हामीले गरेका दुई वटामात्रै बहस छन् । देशको अर्थतन्त्रबारे १५ दिन लगातार हामीले कहिल्यै बहस गरेनौँ । देशको बेरोजगारी अन्त्य गर्ने बहस हामीले कहिल्यै गरेनौँ ।

देशमा दलितहरूले अहिले खेपेको उत्पीडन, अत्याचार अन्त्य गर्नेबारे, यो जात प्रथाको अन्त्य गर्नेबारे हामीले कहिल्यै पनि छलफल गरेनौँ । महिला हिंसा दिनदिनै बढ्दै गएको बारेमा हाम्रो कहिल्यै लामो बहस भएन । कुनै घटनाक्रममा इस्यु उठायौँ होला । बहस भएन । बहस केमा गर्यौं ? मेरो गठबन्धन बलियो छ । मेरो सरकार बलियो छ । तेरो सरकार ढाल्छु । मेरो सरकार ढाल्न दिन्नँ । यही दोहोरीमा हामीले समय खर्च गरेका छौँ ।

मैले गरेको छु भने देखियोस्, अरुले गरेका छन् भने देखियोस् । पहिले जनतामा पारदर्शिता, सुशासन हामीले भित्रबाट सुरु गर्नुपर्छ ।दोस्रो कुरा, मेरो निर्वाचन क्षेत्रमा बजेट किन छैन ? तेरोमा किन छ ? म च्यात्छु भनेर च्यात्ने । अनि यो संस्कारले, यो स्कुलिङले जनतालाई फ्रस्टेसन बाहेक के हुन्छ रु जनताको प्रतिनिधि भनेर हामी त्यहाँ गएका हौँ, त्यसको सदुपयोग भएको छैन ।

त्यसको नेतृत्व प्रणाली नै त्यस्तो छ । त्यसको त्यहाँको ह्विप प्रणाली नै त्यस्तो छ । त्यसले कतिपय अवस्थामा आफ्ना विचारहरूलाई स्वतन्त्र रूपले राख्न पनि त्यहाँ वर्जित गर्छ । अर्कोतिर पार्टी र संसदमा राष्ट्रका एजेन्डाहरूमा बहस नहुने, देशका आवश्यकताहरूको बारेमा बहस नहुँदै गर्दा परिणाम आएन भनेर हामीले कसलाई प्रश्न गर्ने रु परिणाम आउने त कुरै भएन । त्यसकारण आजको संसदीय व्यवस्थाले दलाल पुँजीपति वर्गको वित्तीय पुँजीवादलाई मलजल गरिरहेको छ ।

भ्रष्टाचारको कुरा पनि छ । मुख्य नेतृत्वले साँच्चिकै भ्रष्टाचार नगर्ने भयो भने ६० प्रतिशत भ्रष्टाचार त्यसै घट्छ । त्यो संयन्त्रको राम्रो निगरानी गर्ने संयन्त्र बनाउने हो भने २० प्रतिशत त्यसै घट्छ । ८० प्रतिशत भयो । बाँकी २० प्रतिशत जनताको चेतना, जनताको शक्तिसहित घटाउन सकिन्छ ।

तर आज भ्रष्टाचार दिन दुई गुना, रात चौ गुनाका दरले बढिरहेको छ । खुल्लमखुला भ्रष्टाचार भइरहेको छ । यो भ्रष्टाचार भइरहेको त सबैले भन्छन् । मैले पार्टीमा भनेँ, हाम्रो सम्पत्ति छानबिन गरौँ पहिला । पार्टीका नेताहरूको सम्पत्ति छानबिन गरौँ । पार्टीले गर्ने होइन । स्वतन्त्र व्यक्तिहरू ल्याएर गरौँ ।

मैले गरेको छु भने देखियोस्, अरुले गरेका छन् भने देखियोस् । पहिले जनतामा पारदर्शिता, सुशासन हामीले भित्रबाट सुरु गर्नुपर्छ । नारा सुशासन दिने मनमोहन अधिकारी बाहेक अरु बाँकी देशका नेताहरूले असुली धन्दा गरेकै कुरा ठहर छ । असुली धन्दा भएकै छ । हामीले त्यहाँ निगरानी गर्ने ठाउँमा निगरानी गरेका छैनौँ । हामीले हस्तक्षेप गर्ने ठाउँमा हस्तक्षेप गरेका छैनौँ । बरु सेटिङ गर्दै जाने प्रक्रिया अगाडि बढेको छ ।

आज राज्य एकातिर, व्यापारी व्यवसायी एकातिर राखेर नेतृत्वले बिचमा बसेर दोहन गर्ने र विनालगानी अरबपति बन्ने खालको एउटा परिस्थिति पैदा भएको छ । देश र जनतालाई समाजवादको सपना देखाएर राज्यको जिम्मेवार तहमा बसेर यो खालको काम कारबाही गर्दाखेरि देश कसरी बदलिन्छ रु कसरी कम्युनिस्ट आन्दोलनको रक्षा हुन्छ रु यी आदि प्रश्न आज हामीप्रति, हाम्रो आन्दोलनप्रति, पार्टीप्रति उठिरहेका विषय हुन् ।

(नेपाली कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा गरेको सम्बोधनको सम्पादित अंश} रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung