४ श्रावण २०८३, सोमबार

 

सोभियत संघको विघटनको जगमा फूलेको क्युवाली अर्गानिक क्रान्ति

उत्तर अमेरिकी महादेशको टापुमा रहेको सानो देश क्युवामा अर्गानिक खेतीबारे भारतीय वातावरण अभियन्ता भरत मन्साटाद्वारा लिखित अर्गानिक रिभोलुसन पुस्तक अध्ययन गर्दा मलाई साँच्चिकै प्रेरणादायी अनुभुति भयो । लामो समयसम्म अमेरिकाले लगाएको नाकावन्दीको चुनौतिलाई क्युवाले कसरी सदुपयोग गर्दै वातावरणमैत्री सफल कृषिमा परिणत गरि खाद्य सुरक्षा प्रदान ग¥यो भन्ने कुरा अहिले समग्र विश्वका लागि पनि महत्वपूर्ण शिक्षा हो ।

दिगो वातावरण मैत्रीे कृषि अभियानका लागि क्युवाको अर्गानिक ९प्राङ्गारिक० खेती एक पाठशाला समेत हो । अहिले हाम्रो देशको परिवेशलाई हेर्ने हो भने पनि कृषि क्षेत्रको विकाशका लागि क्युवाबाट केही पाठ सिक्नु पर्ने हुन्छ । हाम्रा समाजका काम भन्दा कुरा ठूला गर्ने चरित्र भएका राजनैतिक दलका नेतादेखि कार्यकर्तासम्मलाई पनि क्युवाको अर्गानिक कृषिको सफल रहस्य पढ्नु र सो मनन् गरी केही गर्नु अत्यावश्यक छ ।

क्युवामा शताब्दीऔं अगाडि परम्परागत रुपको बहुखेती प्रणाली थियो । औपनिवेशको क्रमसँगै स्पेनी सम्राज्य फैलिँदै जाँदा पाँचलाख अफ्रिकी दासको आगमनले क्युवालाई अफ्रिकी कृषि तर्फ आकर्षण ग¥यो । उखु र सुर्तीको एकल खेती गर्ने गरी युरोप निर्यात सुरु भयो । १९औँ शताब्दीको सुरुवातसँगै अमेरिकी हस्तक्षेपको पनि क्युवामा थालनी भयो ।

अमेरिकाका ठूला चिनी व्यापारीको हातमा क्युवाको धेरै जमिन प¥यो । एकल खेतीको क्रम व्यापक रुपमा क्युवामा बढ्यो । उखुको खेती विस्तारका लागि त्यो समयमा वन फडाँनी समेत व्यापक रुपमा भएको थियो । सन् १९३० को समयमा क्युवा संसारकै सबैभन्दा ठूलो उखु उत्पादन गर्ने मुलुक बन्यो ।

एकल खेतीको रुपमा उखु उत्पादन हुँदै गर्दा जमिनको स्वामित्व पनि केही जमिनदार र अमेरिकी चिनी कम्पनीको रहि रह्यो । क्युवामा फिडेल क्याष्ट्रोले सुरु गरेको युद्घले क्युवाली बाटिष्टाको शासन सन् १९५९ मा पल्टायो । क्याष्ट्रोको सत्ता कब्जापछि नयाँ सरकारले नयाँ भूमि सुधार कानुन मार्फत भूस्वामित्वको हदबन्दी तोकि भूमि बाढ्यो ।

नयाँ सरकारको शासनसँगै रुष्ट अमेरिकाले सन् १९६० बाट चरम नाकाबन्दी सुरु ग¥यो । क्युवाबाट तत्काल निर्यात हुने चिनी किन्न बन्द गर्नुका साथै भविष्यका लागि भएका सम्झौताहरु समेत रद्घ भयो । सोही अमेरिकी कदमले क्युवा सोभियत संघ तर्फ नजिक पु¥यायो । सोभियत संघले क्युवाको चिनी किन्यो र विस्तारै क्युवाका सम्पूर्ण व्यापार सोभियत संघ गुटका देशहरुसँग केन्द्रित हुन पुग्यो ।

क्युवाको क्रान्तिकारी सरकारले कृषिमा विविधीकरण गर्न थालेतापनि अमेरिकी नाकाबन्दी र सोभियत संघसँग बढ्दो निर्भरताका कारण उखु खेतीको बाहुल्यता रहिरह्यो । व्यापक यान्त्रिकरण र रसायनमा आधारित खेतीको विकास पनि भइरह्यो ।

जबसम्म सोभियत संघमा आवद्घ देशहरुको समूह क्युवाका लागि चिनी निर्यातको राम्रो बजार र पेट्रोलयम, रसायनिक सामग्री र खाद्यान्नका लागि भरपर्दो आधारका रुपमा कायम रहिरह्यो, त्यसबेलासम्म क्युवाले आर्थिक समृद्धि राम्रै हासिल गरेको थियो । क्युवाले क्रान्तिपछिका तीन दशकमा कृषिको औद्योगिकरण तीव्र बन्यो, सोही अवधिमा गाउँबाट सहरतिर पनि हुलकाहुल जनताहरु झर्ने क्रम बढ्यो ।

सन् १९८९ मा सोभियत संघको विघटन हुन सुरु भए पश्चात समाजवादी देशहरुको आर्थिक सहयोग परिषद् अन्तरगतका देशहरुसँगबाट क्युवाले पाउँदै आएको व्यापारिक सुविधा अचानक खारेज भयो । क्युवाको अर्थतन्त्रमा नयाँ संकटको मोड पनि अचानक यही समयबाट नै सुरु भयो । क्याष्ट्रोको क्युवाली सरकारले सोही संकटको सामना गर्न शान्तिपूर्ण विशेष समयको घोषणा ग¥यो ।

संकटको अभावमा आफ्नो टापुलाई बचाइ राख्न योजनाबद्ध लोडसेडिङ्ग, यातायातमा साइकलको प्रयोग र ट्याक्टरको स्थानमा पशुको प्रयोग जस्ता विविध रणनीतिहरु लियो । साथै क्युवा सरकारले चीनबाट पचास हजार साइकल ल्यायो । आयातित खाद्यान्नमा निर्भर क्युवाको अप्ठ्यारा वर्षहरुको सुरुवात पछि खाद्यान्न वितरणमा कोटा प्रणाली लागु गरियो ।

खाद्यान्नको कमिका कारण भिटामिन बि को अभावमा न्युरोप्याथी फैलिइ ५० हजार मानिसले त्यसबेला आँखाको ज्योती गुमाए । धेरै क्युवाली जनताले संकटको समयमा कम्तीमा १० देखि १५ केजीसम्म तौल गुमाए । त्यस बेला केहि क्युवाली जनताले निराशा र हतासका कारण क्युवा छाडे ।

तर धेरैले भने चुनौतिका विरुद्ध खडा भएर आफ्नो क्षमता प्रस्तुत गरि प्रकोपलाई जित्ने साहस गरे । संकटलाई झन गम्भीर पार्न अमेरिकाले नाकाबन्दीलाई कसिलो बनाइ रह्यो । अमेरिकाले क्युवामा उसका मित्र देशका उद्योगहरुले समेत खाद्यान्न र औषधि बेच्न नपाउने नियम बनायो । संकटका यही समस्याहरुलाई समाधान गर्न क्युवाले बाध्यतावस प्राङ्गारिक खेतीको थालनी ग¥यो ।

सन् १९९० मा जीवन धान्नसम्म हुने अर्थ व्यवस्थाको सुरुमा थालनी गरियो । सम्भाव्य खेती योग्य जमिनको एक टुक्रा पनि खाली नराख्न घोषणा भयो । कृषि रसायनको अभावका कारण स्थानीयस्तरमा जे उपलब्ध छ त्यही उपयोगमा कृषक विवश बने । विवशतावस क्युवा प्राङ्गारिक कृषिमा रुपान्तरण भयो । विस्तारै वृहत्तर पर्यावरणमैत्री कृषिको अभ्यासको विकास हुन थाल्यो ।

स्थानीय रुपमा नै बनाइएका कम्पोष्ट र गड्यौले मल “जैविक मल” को बढ्दो प्रयोग हुन सुरु भयो । सरकारले खाद्य ओसार पसारलाई न्युन पार्दै “जहाँ उपभोक्ता, त्यहिँ उत्पादनका” अनुरुपको कार्य थालनी ग¥यो । खाली जमीन भएका कार्यालय र संस्थाहरुले आफ्ना लागि आफै खाद्यान्न उत्पादनको कार्यक्रम सुरु गरे ।

विकेन्द्रीकरणसँगै सरकारको नीतिले कृषि उपजहरुलाई माग र आपुर्तीका आधारमा मूल्य निर्धारण गर्न पाउने व्यवस्था गर्यो । रक्षा मन्त्रालयले खाद्य उत्पादन हाम्रो मुख्य कार्यभार हो भनेर घोषणा नै ग¥यो । सन् १९९३ मा क्युवा सरकारले अत्यावश्यक ठानिएको साहसिक कृषि सुधार नीति लागु ग¥यो ।

यसले ठूला सरकारी फर्मलाई सहकारी उत्पादनका आधार इकाइ ९युविपिसी० भनिने स्थानीय श्रमिकहरुबाट स्वायत्त रुपमा सञ्चालित ससाना सहकारीहरुमा टुक्र्याइयो । सन् १९९४ को वसन्त ऋतुको आखिरीतिर राज्यको स्वामित्वमा रहेका सबै चिनी फर्महरु युविपिसीमा रुपान्तरण भए । यसको कुल सदस्य संख्या १,३३,६८५ रहेको थियो ।

क्युवामा रसायनिक विषादि विस्थापन गरेर जैविक नियन्त्रणका विधिहरुको प्रयोग धेरै प्रभावकारी र पर्यावरणीय दृष्टिकोणबाट समेत महत्वपूर्ण रह्यो । क्युवाली जनताले बहुखेती प्रणालीको अवलम्बन गर्दै अन्तरबाली लगाउने, बाली चक्र अपनाउने र रैथाने बाली लगाउने जस्ता परम्परागत अभ्यासहरुको पुन थालनी भयोे ।

अमेरिकी नाकावन्दी र सोभियत संघको पतनले ट्याक्टर र इन्धनको अभावमा कृषकहरु गोरुको साहारा लिनतर्फ बाध्य भए । कृषिका लागि जनतामा सकरात्मक सोच बन्यो र ग्रामीण भेगमा रहेको सहर केन्द्रित पलायन हट्यो । प्रकृतिको पुनर्जीवनको लागि सन् १९९० को दशकको प्रारम्भदेखि नै १ लाख हेक्टर जमिनमा हरेक वर्ष वृक्षारोपण सुरु गरियो ।

बाँस निगालो लगायतका विरुवाहरुबाट सम्पुर्ण क्षेत्रमा हरियालीे बनाइयो । सन् १९९० को सुरुमा १४ प्रतिशत जंगल भएको क्युवामा सन् २००६ मा पुग्दा बढेर २४ प्रतिशत भयो । सन् १९८९ अगाडि सहरी कृषिको प्रयोग नभएको क्युवामा संकटले गर्दा सहरी कृषिको समेत सुरुवात भयो । खाद्य संकट झेलेपछि अचानक र स्वतस्फूर्त रुपमा सहरी करेशाबारीको थालनी गरियो ।

सन् १९९४ मा सहरका खाली जमिनलाई खाद्यान्न उत्पादनका लागि प्रयोग गर्ने उद्देश्य सहित संसारमै पहिलो पटक राजधानी हवानामा सहरी कृषि विभाग गठन गरियो । सन् १९९६ मा फेरि एक कानुन पास गरि सहरी क्षेत्रका कुनै पनि कृषि क्षेत्रमा रसायानिक पदार्थको प्रयोगमा प्रतिबन्ध लगाइयो ।

त्यसैगरी सबैतिर आफ्नो सञ्जाल भएको कृषि विभागले प्राङ्गारिक कृषि बगैंचा सम्बन्धमा असङ्ख्य तालिम र गोष्ठीहरु चलायो । चरम संकटपछि उदायको प्राङ्गारिक कृषिले विश्व समुदाय माझ क्युवालाई नमुना बनाइदियो । क्युवामा चरम खाद्य संकटको समाधान प्राङ्गारिक खेती प्रणालीले ग¥यो ।

जैविक कृषिमा विश्व मै क्युवाले महत्वपूर्ण कार्य गरे वापत सन् १९९९ मा स्विडिस संसदले वैकल्पिक नोबेल पुरस्कार भनिने राइट लाइभ्लीहुड पुरस्कारले क्युवाली प्राङ्गारिक कृषि संघलाई सम्मान ग¥यो । सन् २००६ मा विश्व वन्यजन्तु कोषको लिभिङ्ग प्लानेट र ग्लोवल फुटप्रिन्ट नेटवर्कको प्रतिवेदनले विश्वमा क्युवा मात्र त्यस्तो देश हो जसले वास्तवमै दिगो विकास हसिल गरेको छ भन्ने घोषणा नै ग¥यो ।

लिभिङ्ग प्लानेटको सन् २००६ को प्रतिवेदनले क्युवालाई उच्च तहको साक्षरता, लामो औषत आयु र खनिज पदार्थको कम उपभोग गर्ने देश भएको पुष्टि गरेको छ । रसायनिक विषादी रहित सबै जैविक खानपिन, विविध खानेकुरा र सक्रिय क्रियाकलापका कारण क्युवालीहरुको स्वास्थ्यमा सकरात्मक प्रभाव छ ।

विश्व भर आक्रान्त पारिरहेको मुटु रोग अन्य देशहरुमा बढिरहँदा क्युवामा भने १९७० को दशकमा भन्दा ४५ प्रतिशतले कमी आएको छ । साथै क्युवाको बाल मृत्यु दर अमेरिकाको भन्दा पनि कम छ । त्यस्तै नेशनल जियोग्राफी पत्रिकाको एउटा लेखमा क्युवाको वातावरण, वनको संरक्षण र विस्तारका लागि जमिनका ठूला फाँटहरु छुट्याइएका कारण एकदमै चोखो भनेर सम्मान गरिएको छ । अर्गानिक खेतीको क्रान्तिले क्युवाको जीवनशैली र वातावरण पूर्ण रुपमा बदलिएको छ ।

क्युवाको अर्गानिक खेती तत्कालीन समयमा समस्याको समाधान हुँदै अहिले विश्व समुदायले अवलम्बन पर्ने पाठशाला बनेको छ । नेपालले पनि करिव एक वर्ष अघि भारतीय अघोषित नाकाबन्दीको सामना गर्नु प¥यो तर विडम्वना के छ भने काम भन्दा कुरा ठूला गर्ने प्रचलन अझै हराएको छैन् । नेपालमा अझै पनि परनिर्भरता व्यापक मात्रामा छ ।

नेपालमा उत्पादन हुँदै गरेका केही खेतबारीमा आधुनिकताको नाममा रसायनिक विषादीको प्रयोगले गर्दा खाने कुरा भन्दा बढि रोगको भण्डार उत्पादन भइरहेको छ । त्यसैगरी हाम्रा गाउँ वस्ति र सहर बजारमा धेरै खेतबारी बाँझै छन् । देशमा रहेको उत्पादनशिल जनशक्ति उत्पादनमा जोड दिदैंन । एक काइयो केरादेखि दाल, चामल र तरकारीसम्म विदेशको भर गर्नु पर्ने गरि परनिर्मरता बढेको छ । करिव छ महिना सम्म भारतले नाकावन्दी गर्दा समेत नेता र जनताको होस खुल्न सकेको छैन । बजारदेखि गाउँघर सम्म नै आयातित वस्तु किनि खानेको भिडभाड मात्रै छ ।

हो अहिले नेपालले क्युवाका फिडेल क्याष्ट्रो जस्ता नेता चाहेको छ । अमेरिकाले गरेको लामो अवधिको नाकावन्दी विरुद्ध जुट्दै क्युवामा भएको एक सफल अर्गानिक खेतीको रहस्य उद्घाटन हाम्रो देशमा पनि लागु गर्नु पर्ने बेला आएको छ । बाउबाजेले गरेको बहुखेती कृषि प्रणाली र जैविक विषादीको सफलता बारे क्युवाबाट केही सिक्नु पर्ने देखिन्छ ।

सहकारीको असल प्रयोग र खेतीपाती सम्बन्धी उपर्युक्त नीतिद्वारा क्युवाले विश्वलाई चकित पारेको विषय साँच्चिकै नेपाली जनताका लागि पनि ज्यादै उपयोगी छ । क्युवाले चरम संकट पश्चात सुरु गरेको अर्गानिक खेती, सहकारीको माध्यमबाट गोलबद्ध पार्ने नीति र जमिनलाई बाझो नराख्ने कार्यबाट हामीले पनि केही सिक्नु पर्ने बेला आएको छ । देशमा खाद्य सुरक्षाको लागि हामी पनि क्युवाले सुरु गरेको अर्गानिक खेतीबाट केही सिकौं । आफूलाई बाँच्नका लागि चाहिने खाद्य वस्तुको उत्पादन आजैदेखि सुरु गरौ ।

प्रकाश थापा उपसचिव वन तथा वातावरण मन्त्रालय

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung