२ श्रावण २०८३, शनिबार

 

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा करिब ४ अर्ब, प्रतिसेयर आम्दानी २४.४१ रुपैयाँ

बागलुङ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्ष २०८०/८१ असारसम्म ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकले आर्जन गरेको खुद नाफा अघिल्लो आवभन्दा ४९।५३ प्रतिशतले बढी हो। बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले अघिल्लो वर्ष १० अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा गत वर्ष यस्तो आम्दानी १० अर्ब ८ करोड बढी गरेको छ। बैंकको कुल आम्दानी पनि ११ अर्ब ५४ करोडबाट बढेर १२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

आम्दानी बढेसँगै बैंकको सञ्चालन नाफा पनि अघिल्लो वर्ष ४ अर्ब ९ करोड रुपैयाँ रहेकोमा गत वर्ष ३१.५९ प्रतिशत बढेर ५ अर्ब ३८ करोड पुगेको वित्तीय विवरणमा उल्लेख छ।

नाफा र आम्दानी वृद्धिसँगै अघिल्लो वर्ष १ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा गत वर्ष ३० करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ।

बैंकको प्रतिसेयर आम्दानी पनि १६.३२ रुपैयाँबाट बढेर २४.४१ रुपैयाँ, खराब कर्जा ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशतमा झरेको छ।

चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा ३७ अर्ब ४७ करोड, २ खर्ब ९४ अर्ब १८ करोड कर्जा प्रवाह र ५ खर्ब ४१ करोड निक्षेप संकलन गरेको वित्तीय विवरणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung