बागलुङ । मालिका भगवती मन्दिरमा धार्मिक महोत्सव तथा तिजी मेला हुने भएको छ । मालिका भगवती मन्दिर व्यवस्थापन समितिको आयोजनामा भदौ ८ गतेदेखि १२ गतेसम्म महोत्सव र मेला हुने भएको हो ।
शनिबार मन्दिर व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरेर विविध धार्मिक कार्यक्रम सहित महोत्सव र मेलाको आयोजना गर्न लागेको जानकारी गराएको हो ।
तिज मेलाको अवसरमा खुल्ला पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको छ । भलिवलको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रहेको छ ।
द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ र तृतीय पुरस्कार १५ हजार रुपैयाँ रहेको महोत्सव तथा मेलाका महासचिव खिमराज सापकोटाले जानकारी दिनुभयो ।
त्यसैगरी पुरुष तथा महिला छेलो प्रतियोगिताकोसँगै एकल तथा समुहगत नृत्य प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
धार्मिक महोत्सव तर्फ भदौ ८ गते कालीगण्डकी नदीदेखि मालिका भगवती मन्दिरसम्म शोभायात्रा गरिने छ । कान्छा कथावाचकका रुपमा परिचित शिव आचार्यद्वारा ८ गतेनै कथावाचनको कार्यक्रम रहेको सापकोटाले बताउनु भयो ।
त्यसैगरी १० गते नवनिर्मित मालिका भगवती मन्दिरको उद्घाटन, ११ गते गणेश मन्दिर उद्घाटन र विभिन्न धार्मिक अनुष्ठानसँगै पुजा गरिने उहाँले बताउनु भयो ।
बागलुङ नगरपालिकाको वडा नम्बर ५,६ र ७ को संगम स्थलमा रहेको मालिका भगवती मन्दिर यहाँको प्रशिद्ध धार्मिक शक्तिपीठ हो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पत्रकार सम्मेलन धार्मिक महोत्सव तथा तिजी मेलाका मुल संयोजक हरी प्रसाद शर्माको अध्यक्षता तथा जीवननाथ शर्मा रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































