बागलुङ । ढोरपाटनको मोहनी दृश्यले कस्लाइ नलोभ्याउला र । टिकटक र फेसबुक रिल्समा ढोरपाटको सुन्दरता देखेर ढोरपाटन हिडेका धेरैलाई त्यहाँ पुग्ने सडकले भने अफ्ठारोमा पार्दछ । बागलुङको बुर्तिबाङदेखि ३२ किलोमिटर कच्ची सडक पारगर्दै ढोरपाटन पुगेका पर्यटकले ढोरपाटन क्षेत्रको प्राकृतिक दृश्यले कष्टकर यात्रा बिर्साएको बताउछन् ।
यो वर्खामा खाल्टाखुल्टी, उकालो र हिलाम्मे सडक पार गर्दै दैनिक सयौँ सवारीसाधन ढोरपाटनमा पुग्ने गरेको पाइएको छ । २०७१ सालमै ढोरपाटन उपत्यकामा सडक पुगेपनि वर्खामा उक्त सडक जोखिमपूर्ण रहेको छ ।
भुजीखोलाको किनारै किनार यात्रा गर्दा पहिलोपटक ढोरपाटन पुगिसकेका पर्यटकलाई सास्ती हुँने गरेको छ । सामाजिक सञ्जालका कारण ढोरपाटन पुग्ने पर्यटकहरु दिन दिनै बढ्दै गइरहेको र सयौँथरीका बुकी फुलका कारण ढोरपाटने पर्यटकलाई लोभ्याएपनि सडकका कारण त्यहाँ पुग्ने पर्यटकलाई सास्ती पुगेको हो ।
राष्ट्रिय प्राथमिकताको सडक भएर समेत बुर्तिबाङ देखि ढोरपाटनको सडकको अधिकांश स्थानमा स्तरोन्नती हुन नसकेको हो । बुटवलबाट ढोरपाटनको बुकीपाटन घुम्न आउनुभएको सिजन परियारले ढोरपाटनको दृश्यले लोभ्याएर आएपनि सडक भने असहज रहेको गुनासो गर्नुभयो ।
उहाँले सडक अप्ठ्यारो भएका कारण फल्लेघरदेखि माथीको उकालो सडकमा सवारी फस्ने गरको सुनाउनुभयो । “ढोरपाटन उपत्यकामा मोटरसाईकल राखेर एक दिन हिडेर श्रीमतीसँग बुकी पाटन पुगीयो, दृश्यले निकै लोभ्यायो” परियारले भन्नुभयो “ढोरपाटन आएपछि ढोरपाटन आउने दुःख बिर्सदो रहेछ, यती धेरै पर्यटक आउने सडक स्तरीय हुन आवश्यक छ ।”
फल्लेघरदेखि ढोरपाटनको देउरालीसम्मको उकालो र हिलाम्मे सडकले पर्यटकलाई दुःख भइरहेको बागलुङ बजारबाट शुक्रबार ३५ जना पर्यटकको समूह लिएर जानुभएको रोहन जिसीले बताउनुभयो । वर्खाको समयमा सयौँथरी फुलेका बुकी फुलका कारण रोमाञ्चित ढोरपाटन हेर्न झरीमा हिलाम्मे सडक छिचोल्दै ढोरपाटन पुगेको जिसीको भनाई छ ।
पर्यटकका कारण घरबास र होटलहरु फस्टाउँदै आएका छन् भने सिकार आरक्षको राजश्व संकलन भइरहेको छ । बागलुङ बजारबाट चारदिनको पैदलमार्ग ढोरपाटनमा मोटर पुगेपछि एक दिनमा छोटिएपनि स्तरीय सडक नुहँदा पर्यटकहले भने दुःख पाइरहेका छन् ।
नेपालको सय पर्यटकीय गन्तव्यमा सुचिकृत ढोरपाटन विश्वभर चर्चित छ । चर्चित गन्तव्यमा पुग्ने सडक भने कष्टकर छ । महङ्गो मुल्यमा नाउर झारलको सिकार गर्न सकिने ढोरपाटनमा हेलिकप्टर मार्फत विदेशी पर्यटक पुग्ने गरेका छन् भने मनमोहक ढोरपाटन भ्रमणका लागि वर्षेनी २० हजार भन्दा बढी आन्तरिक पर्यटक सडक मार्गबाट ढोरपाटन पुग्ने गरेका छन् ।
सडकको ट्रयाक खुलेको १० वर्ष वित्दा समेत उक्त सडक स्तरीय बन्न नसक्नु दुखद् विषय हो । पाँच वर्षदेखि हिउँदमा जेनतेन मिनी बस पुग्न थालेपनि वर्खा उक्त सडकमा यात्रुलाई सास्ती हुँने गरेको छ । ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले ढोरपाटन पुग्ने सडक कालोपत्र गर्न सके ढोरपाटनमा थेगी नसक्नु पर्यटक पुग्ने आशा व्यक्त गर्नुभयो ।
राष्ट्रिय प्राथमिकरणको आयोजना अन्तर्गत स्तरोन्नतीसँगै कालोपत्रका लागि ठेक्का लागिसकेकाले नगरपालिकाले अवरुद्ध सडक खुलाउने मात्रै काम गर्दै आएको जानकारी दिनुभयो । नगरपालिकाले जनैपूर्णीमा लक्षित गरेर नगरपालिकाले सडकको खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाउने काममा सहकार्य गरिरहेको बताउनुभयो ।
उहाँले पर्यटक बढेपछि स्थानीयको घरबास, होटल चलेको र घोडाधनीलाई लाभ मिलेपनि सिकार आरक्षका कारण पर्यटकलाई असहज भएको बताउनुभयो । उहाँले आरक्षले राजश्व उठाउने मात्रै काम गरेको भन्दै पर्यटकलाई उचित सूचना नदिएको बताउनुभयो ।
“पटक–पटकको प्रयासपछि हिउँदमा त मिनी बस ढोरपाटन पुग्छ, तर बर्खामा उकालो सडक हिलाम्मे भएपछि साना सवारीसाधन समेत जान कठिन हुन्छ, त्यहाँ अहिले जाने भनेकै जिप र मोटरसाईकल मात्रै हो” कायतले भन्नुभयो “वर्खा सकिदासाथ सालझण्डी–ढोरपाटन सडक आयोजनामार्फत सडक स्तरान्नतीको काम शुरु गर्ने सहमती भएको छ, बुर्तिबाङदेखि ढोरपाटन सम्मको सडक कालोपत्र भएमा ढोरपाटनले नथेग्ने पर्यटक यहाँ आउने देखिन्छ, दुई वर्ष अघि सम्म गुमनाम रहेको बुकीपाटन र जलजला जस्ता क्षेत्रमा अहिले पर्यटक ह्वातै बढेको देखिन्छ ।”
रुपन्देहीको सालझण्डीदेखि नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोडिएको यो सडक एक दशक अगाडि ट्रयाक खुले पनि स्तरोन्नति नहुँदा यात्राका लागि जोखिमयुक्त भएको हो । ढोरपाटन जाने सडक स्तरोन्नतीका लागि चार वर्ष अघि ठेक्का भएपनि ३५ प्रतिशत मात्रै काम भएको देखिन्छ ।
बुर्तिबाङ फल्लेघर सम्मको सडक ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द, ओमबुद्ध संयुक्त निर्माण कम्पनीले आगमी दशैमा स्तरोन्नतीको काम पुन थाल्ले गरी सहमती भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।













































































































































































































