३ श्रावण २०८३, आईतवार

 

आत्मनिर्भर अर्थतन्त्रको विकासको लागि राष्ट्रिय पुँजीपति वर्गलाई महत्व दिनु पर्छ : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विकास गर्ने हो भने राष्ट्रिय पुँजीपति वर्गलाई महत्व दिनु पर्ने बताउनुभयो ।

उहाँले नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा उक्त विचार व्यक्त गर्नु भएको हो ।

गाउँदेखि शहरसम्म मेहनत र आफनै पुँजीको बलमा उद्योग व्यवसाय गरी रहनु भएका साना मझौला व्यवसाय गरेर माथि उठेका देशभक्त राष्ट्रिय पुँजीपतिको भूमिका आर्थिक सुधार र औद्योगिकरणमा जोड्न सकिए आत्म निर्भर अर्थतन्त्रको विकास र राष्ट्रिय पुँजीको निर्माण संभव हुने बताउनुभयो ।

दलाल पुँजीवाद र बिचौलियावादको आलोचना गर्दै कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो।

कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।”अध्यक्ष प्रचण्डले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी गराउँदै भन्नुभयो, “हामीले १२३ वटा माओवादी नेतृत्वका पालिकामा प्रशिक्षण अभियान सञ्चालन गरेका छौं ।

ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि छन्।” कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले दिगो विकास र आर्थिक समृद्धिको लागि उद्योगी र व्यवसायीको समस्या समाधान गर्नुका साथै उहाँहरुको मनोबल उच्च हुने गरी राहतको प्याकेज ल्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका सल्लाहकार कृष्ण आचार्य र ईन्चार्ज तथा सांसद गंगा कार्कीले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठको स्वागत र महासचिव खिम नारायण पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

  

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung