बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले व्यवसायीक सुरक्षा र निर्वाध रुपमा उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउन सरोकारवालाहरुलाई अपिल गरेको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले शुक्रबार विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताले आन्दोलनको क्रममा अगाडि सारेको सुशासन, रोजगारी, भष्ट्राचारीलाई कारवाही, सामाजिक सञ्जालको पुनसंचालन, लोकतन्त्रको रक्षा र आर्थिक विकासको माग न्यायोचित भएकोले उहाँहरुको माग लोकतन्त्रको जगमा पुरा गर्न आग्रह गरेको छ ।
साथै आन्दोलनको क्रममा मृत्यु भएका सबै प्रति भावपूर्ण श्रद्धाञ्जली र मृतकको परिवारमा गहिरो समवेदनाका साथै सम्पूर्ण घाइतेको शिध्र स्वास्थ्य लाभको पनि संगठनले कामना गरेको छ । पछिल्लो विकसित घटनाक्रममा देशको विभिन्न भागमा उद्योगी व्यवसायीको पसल, सो रुम, उद्योग, प्रतिष्ठान, कार्यालय र निवासमा समेत तोडफोड र आगजनीको घटनाले हामी गंम्भीर भएका छौं । यसले उद्योगी व्यवसायीको मनोबल गिराउनुको साथै, उद्योगी, व्यवसायी पलायन हुने र नयाँ लगानी भित्रिने संम्भावनालाई कमजोर बनाउने खतरा तर्फ सबै सचेत हुनु पर्ने बेला आएको विज्ञप्तिमा उल्लेख छ।
यसले अर्थतन्त्रलाई नकरात्मक असर पर्ने र राजस्व संकलनमा पनि असर पर्ने देखिन्छ । त्यसैले यस्तो विषम परिस्थितिमा निजी क्षेत्रलाई विश्वासमा लिएर व्यवसायीक वातावरण कायम गर्न र सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेको छ। अहिले सरकारी संरचना र निजी क्षेत्रमा भएका आगजनीले ठूलो आर्थिक, भौतिक नोक्सानी गरेको छ ।
ती सबैको पुनर्निर्माण र सञ्चालनको लागि उच्च मनोबल, राष्ट्रिय एकता, सामाजिक सद्भाव र ठूलो आर्थिक बजेट आवश्यक पर्दछ । त्यसैले यी सबैको पूर्णर्निर्माण र दिगो आर्थिक विकासका लागि निजी क्षेत्र एउटा मुख्य आर्थिक श्रोत हो । सरकार र सरोकारवालाहरुले उद्योग, व्यवसाय र व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताका लागि सबैले पहल गर्न माग गरेको छ।
निषेधाज्ञा र कर्फ्यूका समयमा पनि अत्यावश्यक सेवालाई सुचारु गर्न, आपूर्ति प्रणालीलाई सहज बनाउन, पेसाकर्मीहरूको आवतजावत र औषधी, पानी, खाद्यान्न, दूध, तरकारी, ग्यास र पेट्रोलियम पदार्थ आदि जस्ता अत्यावश्यक वस्तुको ओसारपसारमा अनुकुल वातावरण बनाउन पनि आग्रह गरिएको छ।
कोरोना काल, आर्थिक मन्दीमा पनि जोखिम मोलेर लामो समयदेखि देशमै भविष्यको खोजी गरी उद्योग व्यवसाय गरि रहेका उद्योगी व्यवसायीहरुलाई उद्यम व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्थाको लागि सबै तहको सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिक समाजले सहजीकरणको लागि अपिल गरेको छ ।
राजस्वमा ८० प्रतिशत, नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरेको निजी क्षेत्रले वर्तमान अवस्थाको राजनैतिक, सामाजिक र आर्थिक अन्यौलको अवस्थाबाट देशलाई बाहिर ल्याउन पुलको भूमिका खेल्न सक्छ ।
यस्तो राष्ट्रिय संकटमा सामाजिक सद्भाव कायम गर्न, आर्थिक बजारलाई चलायमान गराउन, गुमेको रोजगारी प्रदान गर्न, व्यवसायीक लगानी गर्न, अत्यावश्यक सामग्रीको आपूर्ति प्रणालीलाई सहज गर्न र देशको पूर्णर्निर्माणमा ठोस योगदान लागि समन्वय र सहकार्य गर्न तयार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।















































































































































































































