बागलुङ । गत सोमबार र मंगलबार नेपाली जेन जी युवाहरुले गरेको आन्दोलनले दुईवटा गम्भिर परिस्थितिको सिर्जना गरेको छ। पहिलो, हामीले यो राष्ट्र, समाज र हाम्रै परिवारका भविष्य, आशा र भरोषा हाम्रा होनहार युवाहरु गुमायौँ र यसको क्षतिपूर्ति कुनै हिसावले पनि हुन सक्दैन ।
झन् नागरिक स्तरबाट उठेका अपेक्षित र जायज माग लिएर सडकमा आउँदा राज्यबाट भएको अकारण एवं अत्याधिक वलको प्रयोगबाट भएको युवाहरुको शहादतले सम्वन्धित परिवार, समाज र समग्र राष्ट्र अनन्त शोकमा डुबेको छ। दोस्रो, आन्दोलनका क्रममा ठूलो भौतिक, आर्थिक तथा मानसिक क्षति भएको छ, जुन कुरा म केही पछि व्याख्या गर्ने छु ।
आजको परिस्थिति आउनमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा कुनकुन शक्ति वा समूहको के भूमिका रहेको छ त्यो बिस्तारै उजागर हुँदै जानेछ र त्यसको दीर्घकालीन प्रभावको पनि विश्लेशण हुँदै जानेछ। तर यो भयङ्कर र दुखद घटनाको मूल कारण चाहिँ लामो समयदेखिको हाम्रा सरकार र राजनीतिक दलहरुको जनता र जनजीविकाप्रतिको उपेक्षा हो र भ्रष्टमतिको रबैया हो । आउने दिनमा यी राजनीतिक दलहरु र तिनका नेतृत्वको असक्षमताको पनि अझ थप र गहिरो अध्ययन र चर्चा अवश्य होला।
यो विध्वङ्श समेतको आन्दोलन भ्रष्टाचार, कुशासन, जनजीविकाका आधारभूत सवालप्रतिको उपेक्षा र गुटवाद एवं परिवारवादबाट आक्रान्त नेपाली अविकासका विरुद्ध युवाहरूको आवाज हो जुन भयानक गतिमा बुलन्द भयो ।
त्यसमाथि हाम्रा भविष्य, आशा र भरोषाका रुपमा रहेका होनहार युवाहरुविरुद्ध राज्यबाट जुन दमन गरियो र त्यसमाथि पनि आन्दोलनभित्र घुसपैठ गरेर राज्यका रणनीतिक महत्वका संरचना, संस्था र समग्र तथ्य तथ्याङ्क एवं श्रेष्ताहरु समेत खरानी पारियो यो कदापि माफीयोग्य कार्य होइन।
यो आन्दोलनले मुलुकको आर्थिक तथा व्यावसायिक क्षेत्रमा जुन नोक्सानी र जानाजानी हमलाबाट समग्र क्षेत्र त्रस्त बनायो, त्यसको क्षतिपूर्ति हाललाई सम्भव नै छैन । यसले अर्थतन्त्र र व्यवसायिक मनोविज्ञानलाई अल्पकाल एवं दीर्घकाल दुवै परिस्थितिका लागि अत्यन्त नराम्रो संकेत र मनोदशा छाडेर गरेको छ ।
व्यक्ति वा व्यवसायलाई लक्षित गरेर व्यक्ति र सम्पत्तिमाथि जुन हमला भएको छ उक्त कुरा जेन(जी आन्दोलनको उद्देश्य पक्कै पनि थिएन। यो ध्वङ्शले भौतिक संरचनाको नोक्सानिको कुरा मात्र होइन लगानी, पुनर्निर्माण र व्यवसायिक आत्मविश्वासमा झन् ठूलो क्षति भएको छ ।
हाललाई क्षतिको पूर्ण विवरण आइसकेको त छैन तर पनि मेरो अनुमानमा आन्दोलनले हाम्रो जिडीपीको १० देखि १२ प्रतिशतभन्दा बढी क्षति भएको हुनसक्छ र हामी फेरि उठेर अगाडि बढ्दै आजको अवस्थामा आइपुग्नअर्को १० देखि १५ वर्ष लाग्नेछ । त्यो पनि राजनीतिक चेत, संरचना र पद्धति सही भएमा।
आज हाम्रा राजनीतिक संरचनाहरूमा न नैतिक बल बाँकी रह्यो न त सही नीति नै । यो समग्र विचलनले आजको यो दुर्घटना निम्त्याउनु अस्वाभाविक होइन । आज हमीले अत्यन्त तितो यथार्थलाई आत्मसाथ गर्नैपर्छ कि मुलुक दुई दशक अगाडिदेखि समावेशी एवं समन्यायिक पद्दतिको संघीय गणतन्त्रमा आइसके छ ।
यसबिचमा वनेका दर्जनौँ सरकारहरुले र तमाम राजनीतिक दलहरुले जनता समक्ष विकास र समृद्धिको खपिनसक्नु प्रतिज्ञा गरकै हुन् । तर दुखको कुरा ती प्रतिज्ञाहरुको डेलिभरी ९कार्यान्वयन० चाहिँ अत्यन्त निरासाजन्य र कमजोर भयो । जनताले अपेक्षा गरेको न्यूनतम सेवा पनि पाउन सकेनन् । बरु दशकौँदेखिका मुख्य राजनीतिक र प्रशासनिक नेतृत्व चाहिँ मोटाउँदै गएको सत्य हो ।
कुरो प्रष्ट बुझौँ, जनजीविकाका सवालहरूमा कुनै पनि सरकार र पार्टीले गम्भीरतापूर्व नलिएकै कारण गरिबी, गरिब, उत्पीडित वर्ग, दलित, महिला, अल्पसंख्यक, मजदुर र किसानको जीवनमा तात्विक भिन्नता आएन । यस प्रकारको कुशासनको सुधार गर्न र जनसम्बन्ध बनाइराख्न लागिपरौं भनेर हामी केही राजनीतिकर्मीहरु बारम्बार चिच्याइयौँ तर पनि संस्थागत रूपले समग्र रूपमा त्यसको आत्मसाथ मुख्य राजनीतिक र प्रशासनिक नेतृत्वले नगर्दासम्म नहुँदो रहेछ भन्ने कुरा पनि सँगसँगै महसुस भएको छ।
केही बोल्न खोज्दा र केही गर्न खोज्नेहरूलाई उल्टै आरोपित गर्नेतिर राजनीति गयो । कुनै पनि संस्था राम्रो हुन त्यसको नैतिक सांस्कृतिक धरातल र नीतिगत व्यवस्था राम्रो हुनुपर्दछ, जुन हुनै सकेन । जसका कारण आज हाम्रा राजनीतिक संरचनाहरूमा न नैतिक बल बाँकी रह्यो न त सही नीति नै । यो समग्र विचलनले आजको यो दुर्घटना निम्त्याउनु अस्वाभाविक होइन ।
विषयहरु उठाइयो वा उठ्यो, सच्चिने ठाउँहरु देखियो वा देखाइयो, सम्भावनाहरु देखायो, कमजोरीहरु कहाँ कहाँ छन् भनेर देखायो, उल्टो दलाल, अन्तर्राष्ट्रिय शक्तिहरूबाट परिचालत जस्ता बनिबनाउ आरोपहरू लगाएर भ्रमित गर्ने प्रयास गरियो । विस्तारै अवस्था बहस गर्न डराउनुपर्ने सम्मको भयो ।
आफूले योगदान गरेको संस्थाबाट निकालिने भएमा बाँच्नुपर्ने भयले हो कि वैचारिक स्पष्टता विनाको राजनीतिक संगठनिक संरचनाका कारणले हो, सबैमा स्तुतिगानको प्रतिस्पर्धा देखिनु हाम्रो लागि दुर्भाग्यपूर्ण कुरा रह्यो । तर विद्रोहबाट आएको शक्तिको एक कर्मठ कार्यकर्ता हुनुको नाताले यसविरुद्ध मेरो सधैँ जुझारुपना रह्यो ।
यो आन्दोलनले स्पष्ट नेतृत्व स्थापना गर्न सकेको छैन । नेतृत्व निकै अन्योलमा छ । स्पष्ट बनौँ, फेरि पनि देश चल्न राजनीति नै चाहिन्छ । राजनीतिक नेतृत्व र सरकार दुवैले परिणाममुखी कामप्रतिको हुटहुटी, विधी, पद्दति र सुशासनको परिपालनामार्फत हामी राजनीतिकर्मीलाई मात्र होइन समग्र देशकै लागि विकास र समृद्धिको परिणाममुखी मार्गचित्रमा अघि बढ्न उत्साहित गर्दै जनताको आत्मविश्वास बढाउनुपर्नेमा, सत्ताको तानातान र सत्तास्वार्थ केन्द्रित अत्यन्त गैरजिम्मेवार अभिव्यक्तिहरुले जनतामा निराशा बढ्दै गयो ।
नेतृत्व प्रशंसामा अलमलियो भने हामी संसदमा भए पनि राष्ट्रका एजेन्डाहरूको कार्यान्वयनमा पछि पर्यौ । जनताका समस्याहरूमा ध्यान पुगेन । हामीले प्रतिज्ञा गरेका आश्वाश्वनहरुको डेलिभरी भएन । गरिब, पिछडिएका एवं दलित जनताले अझै लोकतन्त्रको उपयोग गर्न पाएनन्। शिक्षा, स्वास्थ्य, रोजगार एवं प्रत्यक्ष जनसरोकारका विषयमा ख्याल नै पुगेन ।
मानसिक अस्थिरताले राजनीतिक अस्थिरता निम्त्यायो । बेलैमा सोचौं, बेलैमा सोचौं भन्दा दलहरु एवं तिनका नेतृत्वले सुनेनन् । संसद भनेको मात्र भत्ता खाने थलो हो जस्तो हुन पुग्यो । यी सबका पछाडि हामी जिम्मेवार छौँ ।
अब परिस्थिति असामान्य भएको छ । जेन(जी पुस्ताको आन्दोलनले मुद्दाहरू उठायो । भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने, राजनीतिक अस्थिरता हटाउने, परिवारवादको अन्त्य गर्ने आदि जस्ता आन्दोलनका मुद्दा जेन(जी पुस्ताले स्थापित गर्ने प्रयासमा छ, तर यो आन्दोलनले स्पष्ट नेतृत्व स्थापना गर्न सकेको छैन । नेतृत्व निकै अन्योलमा छ । स्पष्ट बनौँ, फेरि पनि देश चल्न राजनीति नै चाहिन्छ । पुरानो लिगेसी र सम्बन्धका जराहरु बलिया नै रहन्छन् जसले रुपान्तरणमा बाधा हाल्छ ।
संस्थाहरु बलियो बनाउन सोच, व्यवहार ररणनीतिका बलिया आधारहरु आवश्यक हुन्छन् । यतिबेला भावनात्मक एवं आर्थिक रुपले हामी निकै नराम्रो गरी धाराशायी भएका छौं । मुख्य कुरा त हाम्रो संस्कार हो, जुन आज नैतिक र प्रगतिशील छैन।
आन्दोलनका क्रममा स्टोरहरू फुटाएर वा व्यक्तिका घर तोडफोड गर्नुको उद्देश्य गलत गर्नेलाई चेतावनीका रुपमा नभई लुटपाटका रूपमा देखियो । यो हाम्रो समाजमा विद्यमान भ्रष्ट संस्कारको निरन्तरता हो । या भ्रष्ट संस्कृतिको जरा हो । यी तमाम चुनौतीका बीचबाट आगामी यात्रा तय गर्नुछ ।
राष्ट्र, राष्ट्रियता अत्यन्त संकटमा छ । संकटबाट बचाउने कुरा पनि कुन संस्था र कुन नेतृत्वमार्फत भन्ने प्रश्न उठेको छ । समग्र विश्वास गुमेको छ र विश्वासलाई फेरि आर्जन गर्ने नयाँ नेतृत्वप्रति सकारात्मक भावका साथ मद्दत गर्ने वातावरणलाई सहज बनाउने संस्कार कहाँबाट सापटी लिने हो, यो नै आजको मुख्य चुनौति हो ।
केही दिनपछि फेरि उही कुसंस्कारको पुनरागमन सुरु नहोला भन्न सकिन्न । त्यसका लागि विगतका गल्तीबाट सिक्ने कुरामा पछि पर्नु हुँदैन । हामी सबैका लागि राष्ट्र र जनता नै मुख्य कुरा हो । अब नयाँ परिस्थितिमा सबैले हातेमालो गरौँ, आफ्ना कमजोरी आत्मसाथ गरौँ, जेन(जी पुस्ताको उभार र अपेक्षासँगै संवैधानिक परिधिलाई ठूलो क्षति नगरी राजनीतिको नयाँ कोर्स सुरु गरौँ ।
अनलाइनखबरबाट













































































































































































































