३ श्रावण २०८३, आईतवार

 

पुष्प व्यवसायबाट मनग्य आम्दानी गर्दै बागलुङका राहुल बोहरा

बागलुङ । पुष्प व्यवसायमा एक दशक बिताइसक्नुभएका बागलुङ नगरपालिका–१ रामरेखाका राहुल बोहोराले यस पटक फूलका बिरुवा मात्रै बिक्री गर्नुभएको छ ।

बोहोराले भदौं यता मात्रै सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री गर्न सफल हुनुभएको छ । फुल्न थालेका फूलका बिरुवा घरमा लगेर गमलामा सजाउने र तिहारमा प्रयोग गर्ने प्रचलनलाई बोहोराले व्यवसायिक बनाउनुभएको छ ।

तिहारको मुखमा सयपत्री फूल खरिद गर्न भन्दा फूलको बिरुवा खरिद गरेर घरमा सजाउने र तिहारमा प्रयोग गर्नेको संख्यामा वृद्धि भएको बोहोराको भनाई छ ।

पछिल्लो समय बागलुङमा फूलको भन्दा बिरुवाको व्यापार फष्टाएको बोहोराले बताउनुभयो । बागलुङ बजार क्षेत्रमा सयपत्री फूलको बिरुवा खरिद गरेर लैजाने प्रचलन बढेको बताउदै रु। ४० मा माटो सहितको फूलको बिरुवा बिक्री गरेको उहाँले बताउनुभयो ।

“गत वर्ष सम्म फूलको मात्र बढी कारोबार हुन्थ्यो, तर यस पटक फूलको भन्दा बिरुवाको कारोबार बढी भयो, पाँच हजार फूलका बिरुवा बिक्री गरिसके, अहिले माग धान्न नसकेर अन्य जिल्लामा उत्पादन भएको फूलको बिरुवा बिक्री गरिरहेको छु, सयपत्री फूलको बिरुवा बिक्रीबाटै दुई लाख आम्दानी भइसक्यो” बोहोराले भन्नुभयो “विभिन्न जातका फूल तथा फलफूलका बिरुवा आफ्नो ऋषिका नर्सरीमा उत्पादन भइरहेका छन् ।”

कौशीमा फूल सजाउने र तिहारमा प्रयोग गर्ने भएकाले फूलका बिरुवाको माग बढी भएको बोहोराको भनाई छ । भारतको नया दिल्लीमा बिएसी बोट्नी विषयमा अध्ययन जन्मथलो फर्केर पुष्प व्यवसायमा लाग्नु भएको बोहोराले वर्षमा १५ लाख सम्म फूलको कारोबार गर्ने बताउनुहुन्छ ।

साविकको धौलागिरी अञ्चलमा व्यवसायीक पुष्प खेतिको अभाव रहेको र बजार विस्तारको राम्रो संभावना देखेपछि आफ्नै घरबाट थालेको पुष्प व्यवसायलाई साढे चार रोपनी क्षेत्रफलमा विस्तार गरिसक्नुभएको छ । उहाँले मौसमी मात्रै नभएर बेमौसी फूलहरुको समेत उत्तिकै कारोबार गर्दै आउनुभएको छ । उहाँले फूल बिक्रिबाटै तिहार बाहेक मासिक रु।एक लाख ५० हजार भन्दा बढी आम्दानी समेत गर्दै आउनुभएको छ ।

तीन वर्ष काठमाण्डौमा विज्ञान विषयको शिक्षक भएपनि व्यवसायमा नाम संगै आम्दानी गर्न सकिन्छ भनेर गृह जिल्ला फर्केर पुष्प व्यवसायमा लागेको उहाँको भनाई छ । बोहोराको अनुसार नर्सरीमा अहिल तीन जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । पुष्प व्यवसाय भन्दा वित्तिकै तिहारमा मात्रै गरिने व्यवसायलाई सोचिने भएपनि आफूले बाह्रै महिना फूलको कारोबार गर्ने बताउनुभयो ।

उहाँको नर्सरीमा अहिले सयपत्री फूल, मौसमी, बहुवर्षीय र टिस्यु कल्चर गरिएका सजावटका फूलहरु रहेका छन् । यस्तै मेवा, आप, अम्बा, किबी, चेरी, एबोकाडो र आरुका उन्नत जातका विरुवाहरु समेत उत्पादन र बिक्री भइरहेको छ ।

साढे तीन रोपनी आफ्नै जग्गा रहेको बताउदै बोहोराले वार्षिक ५० हजार भाडा तिर्नेगरी एक रोपनी जग्गा भाडामा लिएको बताउनुभयो ।

धौलागिरीमै आफ्नो ठूलो नर्सरी रहेको दाबी गर्दै आफूले अध्ययन गरेको विषयमा व्यवसाय गर्न पाउदा सन्तुष्ट भएको बताउदै उहाँको पुष्प व्यवसायमा बुबा चतुरबहादुर बोहोराले साथ दिदै आउनुभएको छ । बागलुङ सहित म्याग्दी, पर्वत, मुस्ताङका सरकारी कार्यालय सजावट, होटल तथा रिसोर्टमा फूल सजावत, दुबो व्यवस्थापनको समेत काम गरिरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung