२ श्रावण २०८३, शनिबार

 

यस्तो छ सुनको भाउ बढ्नुको कारण, कहिलेदेखि घट्छ मूल्य ?

काठमाडौं । पछिल्लो समय सुनको भाउ लगातार वृद्धि भइरहेको छ । पछिल्लो एक वर्षमा मात्रै सुनको मूल्य ८० हजार बढीले वृद्धि भएको छ । सुनसँगै चाँदीको भाउ पनि उत्तिकै रफ्तारमा वृद्धि भइरहेको छ ।

नेपालको आन्तरिक कारणले सुनको भाउमा असर पर्दैन । सुनको भाउ घटबढ हुनका लागि अन्तराष्ट्रिय स्तरमा हलचल हुनु पर्दछ । पछिल्लो समय यसरी सुनको भाउ वृद्धि हुनुका पछाडि के के कारणहरू छन्, लगातार भाउ बढिरहँदा उपभोक्तामा कस्तो असर परेको छ ? कहिलेसम्म मूल्य बढ्छ ? फेरी घटेपछि कति रूपैयाँसम्म मूल्य ओर्लिन्छ ? नेपालमा सुनको आपूर्तिको अवस्था के छ ? भन्ने विषयमा हामीले सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीसँग कुराकानी गरेका छौँ ।

प्रस्तुत छ अध्यक्ष रसाईँलीसँग गरिएको कुराकानीको सम्पादित अंश

सुनको मूल्य निरन्तर वृद्धि हुनुको कारणहरू

विश्वमा भएको युद्ध, अमेरिका लगायतका देशहरूको केन्द्रीय बैंकले बैंकको ब्याजदर घटाएका कारण, शक्ति राष्ट्रहरूले सुन स्टोरेज गरेर राख्ने प्रतिस्पर्धा, उत्खनन योग्य सुनको मात्रा सीमित र अमेरिकाले विश्वका देशहरूमा भन्सार दर वृद्धि गरेका कारण सुनको भाउ वृद्धि भएको हो ।

विश्वमा हाल युक्रेन र रुस, इजरायल र हमास, इजरायल र लेबनानको हिजबुल्लाह तथा इराक र इजरायलबीच युद्ध जारी छ । यी कारणले पनि मानिसहरूले सुनमा लगानी बढाउँदा सुनको मूल्य बढेको हो ।

यसैगरी, अमेरिकाको फेडरल डिजर्भ बैंकले ब्याजदर घटाएर ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । यस्तै, युरोपियन केन्द्रीय बैंकले, बैंक अफ क्यानडाले, पिपुल बैंक अफ चाईना, बैंक अफ कोरिया, स्विस नेशनल बैंक लगायत केन्द्रीय बैंकले ब्याजदर घटाउँदा त्यसको प्रत्यक्ष असर सुनमा मूल्यमा परेको हो ।

पछिल्लो समय शक्ति राष्ट्रहरूबीच सुन भण्डारको प्रतिस्पर्धा चलेको छ । पोल्याण्डले अप्रिल र मार्च महिनामा मात्रै २८ टन सुन थपेको छ भने चीनले फरवरी देखि सुन भण्डारण गर्दै आएको छ । काजकीस्थानले मे र अगष्ट महिनामा १५ टन थप्दा, तुर्कीले पछिल्लो ३ महिनामा ६ टन सुन स्टोरेज गरेको छ भने चेक गणराज्यले ५ टन सुन थप गरेको छ ।

यसका साथै भारत, मध्य पूर्वका देशहरूले सुन थुपर्न प्रतिस्पर्धा गरिरहेका छन् ।पृथ्वीमा भएको सुनको ९० प्रतिशत उत्खनन भइसकेको अवस्था छ । १० प्रतिशत मात्र सुन उत्खनन् गर्न बाँकी रहेको छ । यसले गर्दा पनि सुनको भाउ निरन्तर उकालो लागिरहने छन् ।

अमेरिकाले चीन, क्यानडा, भारत, मेक्सिको, यूरोपेली देशहरू, भियतनाम, दक्षिण कोरिया, जापान, इन्डोनेसिया लगायतका देशमा भन्सार दर वृद्धि गरेको छ । जहाँ अमेरिकाले चीनलाई १४५ प्रतिशतसम्म ट्यारिफ लगाएको छ । यीनै कारणले सुनको भाउ वृद्धि भइरहेको छ ।

कहिलेसम्म बढ्छ, कतिसम्म पुग्छ ?

विश्वमा युद्धहरू रोकिन थापेपछि, विश्वका केन्द्रीय बैंकहरुले ब्याजदर बढाउन थालेपछि, सुन स्टोरेज गर्ने प्रतिस्पर्धा रोकिएपछि, अमेरिकाले ट्यारिफ रेट घटाएपछि सुनको मूल्य घट्छ । अवस्थाहरू सामान्य भएपछि घटने मूल्य घटने क्रममा २ लाख रूपैयाँसम्म झर्न सक्छ । तर, उत्खनन् योग्य सुनको मात्रा सिमित रहेकाले अन्त्यमा फेरि बढ्नुको विकल्प छैन ।

अमेरिकाको गोल्ड म्याक्सले २०२६ को मध्यसम्ममा अहिलेको भाउ पुग्छ भनेको थियो । तर २०२५ अन्त्य पनि नहुँदै त्यो मूल्य पुगिसकेको छ । भनेपछि अवस्थाहरू यथास्थिति रहेमा कतिसम्म पुग्छ भनेर विश्लेषण गर्न सकिने अवस्था छैन ।

दैनिक ४० केजी माग, २५ केजी मात्रै पूर्ति

दैनिक सुनको माग ४० केजीको हाराहारीमा छ । यो दीपावलीको समयमा माग ज्यादै छ । तर, पूर्ति भने लिमिट रहेको छ । दैनिक ४० केजी मात्र सुन आयात गर्न पाइन्छ । यसले गर्दा बजारको माग धान्न अहिले आयात भएको सुनले सक्दैन । तस्करी बढ्ने सम्भावना हुन्छ ।

सुनभन्दा चाँदीमा लगानी गर्दा राम्रो

विश्व शान्त रहेको खण्डमा सुनको भाउ घट्छ, तर चाँदीको घट्दैन । अहिले विश्वमा चाँदीको अभाव पनि छ । यसले गर्दा सुनमा भन्दा चाँदीमा लगानी गर्न राम्रो हुन्छ । किनकी चाँदीको मूल्य निरन्तर वृद्धि भइरहन्छ ।

(अर्जुन रसाइली नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष हुन् )
आर्थिकन्युजबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung