बागलुङ । चाडपर्वको छेकोमा यसपटक बागलुङ समेत पर्यटकको रोजाईमा परेको छ । तिहार पछिको लामो विदाका कारण बागलुङमा पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो ।
तिहार लगत्तै बागलुङमा पर्यटकको आगमनले होटलहरू भरिएका छन् भने व्यवसायीहरू उत्साहित भएका छन् । अहिले बागलुङको ढोरपाटनसहितका पर्यटकीयस्थल र मुस्ताङ पुग्ने पर्यटकका कारण बागलुङका होटल भरिभराउ भएका छन् ।
तिहार यता बागलुङका होटलमा पर्यटकको चाप बढेर व्यवस्थापनमा चुनौती बढेको छ । कतिपय पर्यटकलाई होटलको हलमा राखिएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत बालढुङ्गादेखि बेनी जाने सडक निर्माणाधीन भएकाले बागलुङ–बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बढेपछि बागलुङका होटल भरिभराउ हुन थालेका छन् ।
तिहार सकिएपछि पर्यटकको सङ्ख्या वृद्धि भएको बागलुङका पर्यटन व्यवसायी बताउँछन् ।विशेषगरी बागलुङको कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम शिलाका कारण बागलुङमा पर्यटकको सङ्ख्या बढेको छ । होटल दि राजन बागलुङमा तिहारको भोलीपल्टबाट सतप्रतिशत होटल बुकिङ भएको र थप पर्यटक अन्य म्याग्दी र पर्वत पठाएको सञ्चालक एन्जिल शाक्यले बताउनुभयो ।
दसैँमा जेनजी आन्दोलन र बाढी पहिरोको कारण होटलमा खासै बुकिङ नभएको अवस्थामा तिहार पछि पर्यटक बढेको शाक्यले जानकारी दिनुभयो ।मुस्ताङ हिँडेका केही पर्यटकसमेत बागलुङमा थप समय बिताउन थालेका हुन् ।
जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोट, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालय लगायतले बागलुङको पर्यटन चलायमान बनाएको छ ।
पर्यटकलाई बागलुङका धार्मिकस्थलहरुले आकर्षित गर्न थालेपछि बागलुङमा पछिल्लो पाँच वर्ष यता होटल व्यवसायमा लगानी बढिरहेको छ ।
दाङ, सुर्खेत, तुल्सीपुर, नेपालजञ्ज लगायतका क्षेत्रबाट मुस्ताङ आउने पर्यटकहरु बागलुङ बस्न समेत आउने गरेका छन् ।बागलुङमा पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको छ । बागलुङमा हालै १५ करोड लगानीमा होटल ईला कम्र्फोट सञ्चालनमा आएको छ ।
जिल्ला सदरमुकाम बागलुङ बजारमा दुई दर्जन सुविधा युक्त होटलमा पर्यटकहरू बस्दै आएका छन् । जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका १०० पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोट अन्य गन्तव्यहरु विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, शालग्राम संग्रहालय लगायतले बागलुङको पर्यटन चलायमान भएपछि उद्यमी चन्द्र ढकालले बागलुङमा गत वर्षमात्रै १५ करोड लगानीमा होटल इला कम्फर्ट सञ्चालनमा ल्याउनुभएको छ ।
विदेशी पर्यटक कम भित्रने बागलुङमा स्वदेशी पर्यटकको भने आगमन बढ्दै जान थालेपछि पर्यटकीय पूर्वाधारहरु समेत निर्माण भइरहेका छन् । बागलुङ जिल्ला सदरमुकाममा दुई दर्जन भन्दा बढी सुविधा सम्पन्न पर्यटकीय होटल रहेका छन् ।













































































































































































































