बागलुङ । बागलुङको दुई स्थानमा व्यक्तिगत लगानीमा द्रुत गतिको निःशुल्क इन्टरनेट सुविधा दिन थालिएको छ ।बागलुङ बजारका सडक खाल्टाखुटी पुर्ने र सरसफाईमा सक्रिय दुई युवाले बागलुङ बजारको तीन स्थानमा निःशुल्क इन्टरनेट राख्ने योजना अनुसार कालिका मन्दिर र समीक्षालय चोकमा पहिलो चरणमा निःशुल्क इन्टरनेट जडान गरेका छन् ।
उक्त इन्टरनेट एक सय मिटर भन्दा बढी वरपरको क्षेत्रमा निःशुल्क चल्नेछ । सगरमाथा कम्प्युटर हाउसका सञ्चालक नैबेद्य सिग्देल र सिर्जना फर्निचरका विराट हरिजनले व्यक्तिगत लागतमा बागलुङ बजारमा निःशुल्क इन्टरनेटको व्यवस्था मिलाएका छन् ।
व्यक्तिगत रुपमा बागलुङ बजारका अव्यवस्थित रुपमा देखिएको खाल्टा–खुल्टी सडक पुर्ने र ढलान गर्ने, सडक नाली सफा गर्ने कार्यमा सक्रिय दुई युवाले पहिलो चरणमा कालिका मन्दिर र समिक्षलय चोकमा निःशुल्क इन्टरनेटको सुविधा प्रदान गरेका हुन् ।
एक सय मिटर भन्दा टाढा सम्म वाईफाई टिप्न सक्ने द्रुत गतिको इन्टरनेटको उपकरण जडान गरिएको नैबेद्य सिग्देलले जानकारी दिनुभयो ।
कालिका मन्दिरमा आउने धार्मिक पर्यटकलाई र समिक्षलय चोक सहित विरेन्द्र ऐश्वर्य पार्कमा आउने नागरिकलाई लक्षित गरी इन्टरनेट सुविधा दिइएको छ ।
द्रुत गतिको एउटै इन्टरनेटको उपकरणलाई रु ३७ हजार पर्ने उहाँको भनाई छ । उहाँले बागलुङ बजारमा सडक बत्ती समेत जडान गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
समिक्षालय चोक र कालिका मन्दिरमा निःशुल्क इन्टरनेट सुचारु भइसकेको छ । स्थानीय सरकारको रुपमा रहेको बागलुङ नगरपालिकाले गर्न नसकेको काम स्थानीय युवाहरुले गर्न थालेको भन्दै प्रशंसा भइरहेको छ ।













































































































































































































