बागलुङ । चन्द्रागिरि केबलकार तथा रिसोर्ट (चन्द्रागिरि हिल्स) शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । केबलकार सेवा सुरु भएपछि पर्यटकीय तथा धार्मिक गन्तव्यको रुपमा विकास भएको भालेश्वर महादेव मन्दिर र त्यस क्षेत्रको दर्शन गर्न पर्यटक र भक्तजनलाई सहज हुने भएको छ ।
पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरू प्राप्त गर्न सक्ने छन् ।गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेको थियो ।
त्यसपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो । त्यसअघि चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए ।
केवलकारसेवा सञ्चालन तथा सुचारु बनाउन स्थानीय समुदायले देखाएको निरन्तर सहयोग प्रति चन्द्रागिरि हिल्स व्यवस्थापनले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।














































































































































































































