बागलुङ । बागलुङकै सबैभन्दा ठूलो जलविद्युत आयोजना दरमखोला जलविद्युत ९.६ मेगावाटले व्यावसायिक उत्पादन शुरु गरेको छ । २०७७ सालबाट निर्माण सुरु भएको दरमखोला जलविद्युत आयोजनाले यसैसाताबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ ।
दरमखोला हाइड्रो इनर्जी प्रा.ली.ले निर्माण गरेको दरमखोला जलविद्युत पिपिए सम्झौता पश्चात राष्ट्रिय प्रशारण लाईनमा जोडिएको हाइड्रो इनर्जी प्रा.ली.का अध्यक्ष निरज पुनले जानकारी दिनुभयो । हाइड्रोपावरमा रु दुई अर्ब भन्दा बढी रकम खर्च भइसकेको छ । बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा अझै विद्युतकीकरण नभएकाले विद्युतीकरणमा उत्पादनले सघाउने छ ।
आयोजनाको केही बाहिरी पूर्वाधार तथा मर्मतको काम रहेकाले लागत बढ्ने पुनले जानकारी दिनुभयो । गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरि साढे चार किलोमिटर पश्चिम गलकोट नगरपालिका–११ रिघाको मनेवापाटामा विद्युतगृह निमार्ण गरी उत्पादन थालिएको विद्युतलाई नेपाल विद्युत प्राधिकरणको हरिचौर सवस्टेशनमा जोडिएको छ ।
पाइपलाइन मार्फत दरमखोलाको पानी लिएर विद्युत उत्पादन गरिएको हो । जलविद्युत आयोजनाको निर्माण रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेडले ठेक्कामा गरेको थियो ।













































































































































































































