बागलुङ । बागलुङबाट सञ्चालित इपरि न्युजमा कार्यरत दिलिप पर्तेललाई स्वास्थ्यकर्मीद्वारा दुव्र्यव्यहार भएको छ ।जैमिनी नगरपालिका-३ को देमकस्थित वडा कार्यालयमा गएको बेला नेपाने सहरी स्वास्थ्य केन्द्रका प्रमुख भीम पुनले दुव्र्यवहार गर्नुभएको छ ।
केही महिना अघि प्रकाशित समाचारको विषयलाई लिएर उहाँले गालीगलौजसँगै हातपातको प्रयास गरेको प्रर्तेलको गुनासो छ । वडा कार्यालयमा पुग्दा पुरानो समाचारको विषय उठाएर अभद्र व्यवहार गरेपछि पत्रकार पर्तेलले जैमिनी नगरपालिकामा उजुरी दिएको बताउनुभयो । नेपाल पत्रकार महासंघ बागलुङले पत्रकार पर्तेललाई गरेको दुव्र्यवहारको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालद्वारा प्रकाशित विज्ञप्तीमा पत्रकारलाई समाचारको विषयमा हातपात गर्ने वा डरधम्की दिने काम सह्य नभएको बताउदै समाचारमा चित्त नबुझेमा खण्डन गर्ने अधिकार सुरक्षित रहेपनि पत्रकारलाई अभद्र व्यवहार गर्ने काम रोकिनुपर्ने बताइएको छ ।
पर्तेलको मोबाइल सहित सञ्चार सामग्री समेत नियन्त्रणमा लिइएको छ । उक्त घटनाबाट स्वतन्त्र प्रेसको अधिकारमाथि गम्भीर खलल पुगेको महासंघको ठहर छ ।
कुनैपनि समाचारमा गुनासो वा विमति भएमा प्रचलित विधि वा कानुनी प्रकृयाबाट समस्याको समाधान खोज्नुपर्नेमा पत्रकारलाई धाकधम्की दिनु र हातपात गर्नु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी कार्य रहेको महासंघको भनाई छ । मिति २०८२ जेठ २९ गते कार्यालय समयमा मोटरसाइकल सिक्दै स्वास्थ्यकर्मी शीर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर पर्तेलमाथि हातपात र दुव्र्यव्यहार गरेका थिए ।
















































































































































































