२० भाद्र २०८३, शनिबार

 

पत्रकार पर्तेलमाथि भएको दुर्व्यवहारप्रति प्रेस सेन्टरको ध्यानाकर्षण

बागलुङ । प्रेस सेन्टर नेपाल बागलुङका कोषाध्यक्ष दिलिप पर्तेलमाथि बागलुङको जैमिनी नगरपालिका–३ दमेक स्थित नेपाने सहरी स्वास्थ्य केन्द्रका प्रमुख भिम पुनले २०८२ मंसिर ३ गते बुधबार जैमिनी नगरपालिका ३ को कार्यालयमा गरेको हातपात र दुर्व्यवहारको प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

बागलुङबाट सञ्चालित अनलाइन न्यूज पोर्टल इपरीन्युजमा २०८२ जेठ २९ गते प्रकाशन भएको ‘कार्यालय समयमा मोटरसाइकल सिक्दै स्वास्थ्यकर्मी’ शिर्षकको समाचारको विषयलाई लिएर निज पुनले हातपात र दुर्व्यवहारको साथै पत्रकार पर्तेलको साथमा रहेको मोवाइल सहित सञ्चार सामग्री नियन्त्रणमा लिएका हुन् ।

राज्यको जिम्मेवार कर्मचारीले पत्रकारमाथि गरेको यस किसिमको व्यवहारले स्वतन्त्र प्रेसको अधिकारमाथि गम्भीर खलल पुगेको हाम्रो ठहर छ । कुनैपनि समाचारमा गुनासो वा विमति भएमा प्रचलित विधि र कानुनी प्रकृयाबाट समस्याको समाधान खोज्नुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारमाथि धाकधम्की दिनु, हातपात गर्नु, सञ्चार सामग्री नियन्त्रणमा लिन निन्दनिय र प्रेस स्वतन्त्रता विरोधी कार्य हो ।

यस घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रेस सेन्टर नेपाल माग गर्दछ । जिम्मेवार, मर्यादित पत्रकारिता मार्फत राज्यलाई खबरदारी र स्वच्छ आलोचना गर्न पाउने वातावरण बनाउन पनि प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति सम्बन्धित पक्षसँग माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung