३ श्रावण २०८३, आईतवार

 

बागलुङ महोत्सवको तयारी तीब्र, १० करोडको कारोबार हुने

बागलुङ । बागलुङकै सबैभन्दा ठूलो मेलाको रुपमा लिएको बागलुङ महोत्सवको तयारी थालिएको छ । बागलुङ उद्योग वाणिज्य संघले पुस ११ देखि २१ गतेसम्म आठौँ बागलुङ महोत्सव गर्न थालेको जनाएको छ ।

‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको हो । बिहीबार पत्रकार सम्मेलन गरेर संघले महोत्सवबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष राजनकुमार शाक्यले महोत्सवलाई मौलिक र पृथक बनाउने प्रयास थालिएको जानकारी दिनुभयो । पर्यटनको प्रर्बद्धन, जिल्लाको विकास निर्माणमा साथ दिने र संघको संस्थागत विकासमा महोत्सवलाई उपयोग गरिने शाक्यको भनाइ थियो । महोत्सवमा ८ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

बागलुङस्थित ‘कोसेली घर’ सञ्चालन गर्न महोत्सवको मुनाफालाई सदुपयोग गर्ने, सडक मानवरहित नेपाल बनाउने मानव सेवा आश्रमको अभियानलाई सफल बनाउन महोत्सवको टिकटबाट १० रुपियाँ सहयोग गर्ने, खेलकुदको विकासका लागि कोष स्थापना गर्ने, उद्योग वाणिज्य संघबाट सञ्चालन गरिने सदस्य कल्याणकारी कोष सञ्चालनका लागि पाँच लाख जम्मा गर्ने उद्देश्य महोत्सवमार्फत राखिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

व्यवस्थित बनाउन अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा मुल समारोह समितिसहित दर्जनबढी उपसमिति गठन भएका छन् । यो पटक महोत्सवमा झण्डै एक करोड ५० लाख आम्दानी गर्ने र सबै खर्च कटाएर ५० लाख बचत गर्ने लक्ष्य राखिएको शाक्यले जानकारी दिनुभयो ।

महोत्सवमा १० करोडको कारोबार हुने बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले बताउनुभयो । महोत्सवलाई बागलुङको व्यवसाय प्रवर्धनमा जोडिनेछ । त्यसका लागि जिल्लाका संभावनाको खोजी गर्ने, बागलुङ नगरपालिका वडा नं १ को बाङ्गेचौरमा महोत्सव भए पनि संभावनाको खोजीका लागि गरिने छलफलहरु बागलुङ बजारका विभिन्न स्थानमा गरिने निवर्तमान अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

कार्यक्रमको सञ्चालन बागलुङ उद्योग वाणिज्य संघका महासचिव इन्द्रमणि पौडेल अर्जुनले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung