बागलुङ । धौलागिरि प्रादेशिक अस्पताल अगाडि रहेको रक्तसञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोग विहीन भएका थिए । सोही कारणले बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो ।
अगामी एक महिनाभित्र सेवा प्रदान गर्नेगरी सेतो रगत उत्पादन गर्ने उपकरण भित्राइएको जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उपकरण जडान गर्ने तथा ल्याब टेक्निसियनलाई दुई हप्ताको तालिम पश्चात् सेवा सञ्चालन गरिने छ ।
सेवा सञ्चालनमा आएपछि जटिल प्रकारका बिरामीलाई आवश्यक पर्ने प्लेटलेट्स-प्लाज्मा बागलुङमा उत्पादन हुने जनाउँदै धौलागिरी प्रादेशिक अस्पतालबाट बाहिर रिफर हुने जटिल प्रकारका बिरामीको सङ्ख्या घट्ने आचार्यले विश्वास व्यक्त गर्नुभयो ।
विशेषज्ञ सेवा प्रदान गर्ने तथा जटिल रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले बताउनुभयो । यसअघि रक्तसञ्चार केन्द्रमा सेतो रगत नपाउँदा अस्पतालले जटिल समस्या देखिका, सेतो रगत आवश्यक पर्ने बिरामीलाई पोखरासहित बाहिर पठाउनुपर्ने बाध्यता रहेकामा शीघ्र उक्त समस्या समाधान हुने उहाँले उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दुई वर्षअघि दिएको रातो र सेतो रगत छुट्याउने उपकरण ९कम्पानेन्ट सेन्ट्रिफ्युज० जनशक्ति, जडान, पूर्वाधारका लागि आर्थिक अभावलगायत कारणले प्रयोगमा आउन सकेको थिएन ।
प्रदेश सरकारको रु १५ लाख, बागलुङ नगरपालिकाको रु पाँच लाख, जैमिनी नगरपालिकाको रु तीन लाख, गलकोट नगरपालिकाको रु दुई लाख र बरेङ गाउँपालिकाको रु एक लाख ५० हजार लागतमा उपकरण खरिद भइसकेको छ ।
उपकरण आएपनि प्रयोगशाला निर्माण गर्न नसक्दा रोकिएको काममा बागलुङ समाज जापानले रु १३ लाख ५० हजार नगद सहयोग गरेपछि प्रयोगशाला बनाउन सुरु गरिएको छ ।
हालै बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक कँडेलले रेडक्रस बागलुङका सभापति आचार्यलाई पूर्वाधार बनाउन रु १३ लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम वातावरण अनुकूलित कोठा, जनशक्तिलाई तालिम तथा अन्य पूर्वाधार बनाउन खर्च गरिने आचार्यले जानकारी दिनुभयो ।
विशेषगरी डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका, सेतो रातो रगत कम उत्पादन हुने रोग, क्यान्सर, सर्पदंश, शल्यक्रियालगायत अत्याधिक रक्तस्राव भएका बिरामीलाई सेतो रगत आवश्यक पर्ने धौलागिरी अस्पतालका प्रमुख डा. तिवारीले जानकारी दिनुभयो ।
उहाँले सेतो रगत आवश्यक परी यहाँ उपचार सम्भव नहुने बिरामीलाई पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार बिरामीको अवस्था हेरेर ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुने गर्दछ ।













































































































































































































