३ श्रावण २०८३, आईतवार

 

गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

बागलुङ । बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबारको संरक्षण संगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि दरबार अवलोनका लागि पुग्ने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

दरबारमा एक वर्षमै २० हजार पुगेको पाइएको छ । दरबार क्षेत्र अवलोन संगै खाना तथा खाना खाने व्यवस्था सेमत भएकाले पर्यटकको संख्या बढेको छ । पूर्खाको नासोलाई संरक्षण गर्दै आउनुभएका मन्जेस बम मल्लका अनुसार एक वर्षमै २० हजार आन्तरिक पर्यटकले गलकोट दरबार अवलोन गर्न आएको जानकारी दिनुभयो ।

द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार अहिले पुरानै स्वरुपमा फर्काइएको छ । अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने रङ्गरोगन र मर्मत संभारपछि चिटिक्क बनाइएको छ । दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई संरक्षणसंगै दरबार हेर्न आउनेलाई दरबार क्षेत्रमै तीन वर्षदेखि रेष्टुराँ सञ्चालनमा ल्याइएको छ ।

दरबार क्षेत्रमा रहेको पुरानो घर र गोठलाई मौलिक रुपमा पुनर्निर्माण गरी रेष्टुराँ सञ्चालनमा ल्याइएको छ भने दरबारलाई अवलोकनका लागि राखिएको छ । गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको एक सय वर्षभन्दा पुरानो गलकोट दरबार घुम्न आउने पर्यटक बढेपछि मल्ल परिवारकै सक्रियतामा दरबारको संरक्षण थालिएको हो ।

तत्कालीन भरतबम मल्ल राजाले राज्य गरेको गलकोट दरवार पर्यटक आर्कषण गर्ने प्रमुख माध्यम बनेको तत्कालीन राजा भरतबम मल्लका नाती मञ्जेश बम मल्लले बताउनुभयो । उहाँले पूर्खाको नासोलाई संरक्षण गरेर पर्यटक बोलाउन माध्यम बनाएको र गत वर्ष पर्यटकको आगमनको तथ्याङ्क संकलन गर्दा २० हजारले दरबार अवलोकन गर्न आएको बताउनुभयो ।

दरबारमा फोटो खिच्न, भिडियो बनाउन, अध्ययन तथा अवलोकन गर्न आउनेको संख्या दैनिक एक सय भन्दा माथी रहेको छ । दरबार संरक्षणसँगै आन्तरिक पर्यटकबाट आम्दानी गर्ने र दरबारलाई दीर्घकालीन रुपमा पर्यटकीय केन्द्रका रुपमा बनाउन आर्थिक स्रोतसमेत आवश्यकपर्ने भएकाल दरबार क्षेत्रमै रेष्टुराँ सञ्चालन गरिएको हो ।

मल्ल सहितका चार युवाहरुले रु ५० लाख लगानीमा दरबार मर्मत रेष्टुराँ सञ्चालनमा ल्याइएको छ । दरबार परिसरमा माछापोखरी बनाएर विभिन्न प्रजातीका माछासमेत पाल्दै आएका छन् । उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो ।

राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव मल्ल आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्ल द्वन्द्वको समयमा दरबारमै मारिएका थिए । दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर संगै झण्डै पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । विसं २०५९ वैशाखमा भएको हत्यासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ गएपछि दरबार जीर्ण बनेको थियो ।

पछिल्लो समयमा नाति मन्जेश बम मल्लले दरबारको संरक्षण गरेपछि पर्यटकहरु आउने क्रम क्रमश बढिरहेको छ ।

विसं १९६८ को अन्त्यतिर राजा नारायणबम मल्लको निधन भएपछि भरतबम मल्ल गलकोट राज्यका अन्तिम राजा भएका थिए । विसं १९८९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि नेपालका विभिन्न क्षेत्रबाट आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung