३ श्रावण २०८३, आईतवार

 

दोस्रो ‘इन्डिया–नेपाल टुरिज्म मिट’ कार्यक्रम सुरु

बागलुङ । दोस्रो ‘इन्डिया–नेपाल टुरिज्म मिट’ अन्तर्गत भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको सहभागितामा सोमबारदेखि गन्तव्य प्रवद्र्धनका कार्यक्रम सुरु भएका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको संख्यामा वृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा गन्तव्य प्रवद्र्धन सुरु गरिएको हो ।

भारतीय टुर अपरेटर र मिडियाकर्मीको टोलीललाई पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा नेतृत्वको टोलीले सोमबार सुनौली नाकामा स्वागत गर्दै स्थल मार्गबाट चितवनको सौराहा ल्याएको थियो ।

भारतीय टोलीलाई होटेल संघ नेपाल चितवनका तर्फबाट स्वागत एवम् पर्यटकीय साझेदारी लगायतका विषयमा अन्तरक्रिया गरिएको पोखरा पर्यटन परिषद्का महासचिव सापकोटाले जानकारी दिनुभयो ।

अन्तरक्रियामा होटेल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे, पर्यटन व्यवसायी वासु ढुङ्गाना, नेपाल पर्यटन बोर्डका प्रेम भट्टराई, सन्कृत टुर्स भारतका अभिषेक सन्कृत लगायतले नेपाल र भारतबीचको पर्यटकीय साझेदारीका सम्भावना लगायतका विषयमा बोल्नुभएको थियो ।

उक्त अवसरमा सौराहाको प्रवद्र्धनात्मक भिडियो समेत प्रस्तुत गरिएको थियो । महासचिव सापकोटाका अनुसार भारतीय प्रवद्र्धनात्मक टोली मङ्गलबार तनहुँको बन्दीपुर हुँदै बेगनास र बुधबार पर्वत र बागलुङ तथा पुस ३ गते पोखराको पुम्दीकोट भ्रमण गरी होटेल पोखरा ग्रान्डमा हुने मिटमा सहभागी बन्ने छ । टोली पुस ४ गते पोखराबाट पाल्पा हुँदै सुनौली नाकाबाट भारत फर्कने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung