२१ भाद्र २०८३, आईतवार

 

जैमिनीको ज्यामिरघाटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, २ जना घाइते

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ ज्यामिरघाटस्थित कालिगण्डकी करिडोरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा २ जना घाइते भएका छन्।

मंगलबार साँझ करिब ५ बजे मुक्तिनाथ दर्शन गरी बुटवलतर्फ जाँदै गरेको ग्ए ३५ ग् ५२२० नम्बरको मारुती सुजुकी कार ब्रेकमा समस्या आएपछि सडकको बाँया साइडको पर्खालमा ठोक्किएको प्रहरीले जनाएको छ। कार भारत उत्तर प्रदेश आजमगढ निवासी ३५ वर्षीय अब्दुल्ला शेखले चलाएका थिए ।

दुर्घटनामा चालकसहित कारमा सवार ६ जनामध्ये २ जना घाइते भएका छन्।

घाइते हुनेमा भारत उत्तर प्रदेश आजमगढ निवासी ३० वर्षीय सैयद अर्सी रहेका छन्, उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ। यस्तै २४ वर्षीया समैया खान नाक र दाहिने खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको छ।

घटनापछि प्रहरी चौकी कुश्मिसेराबाट प्रहरी सहायक निरीक्षक सनन्दन प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले कार नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung