बागलुङ । गायक तथा अभिनेता प्रकाश सपुत शनिबार साँझ आफ्नो गृहथलो बागलुङका दर्शकमाझ प्रस्तुत हुनुभयो । बागलुङ महोत्सवको मञ्चमा उहाँलाई बागलुङ उद्योग वाणिज्य सङ्घले उभ्याएको हो । सप्तान्हतको साँझ गीतसङ्गीतप्रेमी दर्शक सपुतका गीतमा झुमे, रमाए । डेढ घण्टा बढी मञ्चस्थ हुनुभएका गायक सपुतले आफ्ना चर्चित गीत ‘बोलमाया‘’देखि ‘गलबन्दी‘’सम्म प्रस्तुत गर्न भ्याउनुभयो ।
‘नमस्कार‘’ बोलको गीतसँगै मञ्चमा देखा पर्नुभएका उहाँले ‘दोहोरी ब्याटल’सँगै आफ्नो प्रस्तुतिको मैजारो गर्नुभयो । छिपिँदो रातसम्म सपुतलाई दर्शकले साथ दिए । दुई वर्षपछि उहाँले आफ्नो गृहथलोमा प्रस्तुति दिनुभएको हो । सपतुले ‘पिर‘’, ‘फूलमाया‘’, ‘मेरो पनि होइन र‘’ लगायत गीत सुनाउनुभयो । सपुतले आफूद्वारा अभिनित चलचित्रका गीतसमेत गाउनुभएको थियो । उहाँको गायकी र प्रस्तुतिमा दर्शक मन्त्रमुग्ध देखिन्थे ।
स्वस्थ मनोरञ्जनदेखि सामाजिक विषयवस्तुका गीत सिर्जनामा पारङ्गत सपुतले आफ्नो साङ्गीतिक सफलताको श्रेय बागलुङलाई जाने बताउनुभयो । उहाँले बागलुङको परिवेश, हावापानी, संस्कार र संस्कृति नै आफ्ना सिर्जनाको स्रोत रहेको उल्लेख गर्नुभयो । उहाँको प्रस्तुति सुन्न प्रौढदेखि बालबालिकासम्म महोत्सवस्थल पुगेका थिए ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपुत गायकन र अभिनय कलामा पोख्त हुनुहुन्छ । उहाँको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘वसन्त’ गत वर्ष प्रदर्शनमा आएको थियो । उहाँले ‘पूर्णबहादुरको सारङ्गी’, हरिबहादुरको जुत्ता’, ‘माइतीघर’लगायतका चलचित्रमा अभिनय गर्नुभएको छ । सपुतसँगै शनिबार गायक कुमार पुन, गायिका टीका पुनलगायतका कलाकारले महोत्सवमा प्रस्तुति दिएका थिए ।
यही पुस ११ गतदेखि सुरु भएको महोत्सव सोमबारसम्म सञ्चालन हुनेछ । महोत्सवका अवधिभर विभिन्न कलाकारहरुको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका संयोजक एवं बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो ।
महोत्सवमा खुला प्रदेशस्तरीय पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, पञचेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भोले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैंटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।
महोत्सवमा फोटो प्रदर्शनी, सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवद्र्धन, सुन्तला, माछाको प्रदर्शनी, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जटिबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष रहेको अध्यक्ष शाक्यले बताउनुभयो ।
आठ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको संघका पूर्वअध्यक्ष एवं सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कँडेलले बताउनुभयो । महोत्सवको प्रतिटिकटबाट रू। दस मानवसेवा आश्रम बागलुङलाई सहयोग गरिने भएको छ । टिकटबाट उठेको रकमबाट नेपाल पत्रकार महासङ्घ, बागलुङको संस्थागत विकास र जिल्लाको खेलकुद विकासमा सहयोग गरिने जनाइएको छ ।
महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिने जनाइएको छ । महोत्सवमा रू दुई करोड २० लाख आम्दानी हुने र रू एक करोड ७० लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सवमा दुई सय बढी व्यावसायिक ‘स्टल’ रहेका छन् ।













































































































































































































