बागलुङ । हिउँद याममा आगलागी, लगायतका मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मनसुनजन्य विपद्का घटनाहरु बढ्न सक्ने तर्फ मध्यनजर गरी आवश्यक तयारी थालेको हो ।
बैठकमा जिल्लामा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत जिल्लास्थित सम्पूर्ण सरकारी र गैरसरकारी निकायहरु विपद्को पूर्वतयारी, जोखिम न्यूनिकरण, विपद् प्रतिकार्य लगायतको कार्यका लागि तयारी अवस्थामा रही समग्र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारे छलफल भएको थियो ।
बैठकमा जिल्लाभित्र सम्भावित प्राकृतिक विपद् व्यवस्थापन, स्रोत साधनको परिचालन जोखिम न्यूनीकरण र हिउँदयाममा हुने आगलागी चट्याङ लगाएत संभावित क्षतिलाई न्यून बनाउन आवश्यक पूर्वतयारी, जनचेतना अभिवृद्धि तथा जोखिम न्यूनीकरण रणनीतिहरूबारे चर्चा गरिएको थियो ।
बैठकमा जिल्ला विभिन्न पालिकाका प्रतिनिधि, राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका कर्मचारी, जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, लगायतले आ–आफ्नो विचार तथा भए गरेका कार्यका साथै हुनु पर्ने कामहरुका बारेमा धारणा राखेका थिए ।
बैठकमा विपद्को अवस्थामा प्रभावित घरपरिवारलाई तत्काल राहत सामग्री वितरण गर्न जिल्ला प्रशासन कार्यालय लगाएत जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायहरु आवश्यक तयारीको अवस्थामा रहने निर्णय भएको छ ।
बैठकले जिल्लाका विभिन्न स्थानीय तहबाट मनसुनजन्य नीजि आवास, पुननिर्माण तथा पुर्णस्थापना अनुदान बमोजिम किस्ता भुक्तानिको लागि आएका २० नागरिकको लागि अन्तिम किस्ता भुक्तानि दिने निर्णय भएको छ ।
साथै मनसुनजन्य विपदको कारण क्षति भएका जिल्लाका ४ विद्यालयको संरचना पुननिर्माणको लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा सिफारिस गर्ने निर्णय भएको छ ।
बैठकले विपद् व्यवस्थापनको तयारीलाई थप सुदृढ गर्दै समन्वयात्मक रूपमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत दिएको छ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद आयार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले गर्नु भएको थियो ।
















































































































































































