२० भाद्र २०८३, शनिबार

 

मानवसेवा आश्रम बागलुङद्वारा २ सय २६ जनाको उद्धार, ४८ जनाको पारिवारिक पुनर्मिलन

बागलुङ । मानवसेवा आश्रम बागलुङले नौ वर्षमा दुई सय २६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरेको छ । आश्रमद्वारा बुधबार आयोजित प्रगति प्रतिवेदन सार्वजनिकीकरण एवं सामाजिक लेखा परीक्षण कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

आश्रमका संयोजक विपना तामाङका अनुसार उद्धार गरिएकामध्ये ४८ जनाको पारिवारिक पुनर्मिलन भएको छ । ३२ जनाले आश्रममै ज्यान गुमाएको र एक सय जनाले स्वेच्छाले आश्रम छाडेको उनले बताइन् । यस्तै चार जनाको सामुदायिक पुनःस्थापना र २१ ज्नाको पुनः उद्धार गरिएको संयोजक तामाङले जानकारी दिइन् ।

गत आव २०८१-०८२ मा २७ जनालाई उद्धार गरिएको थियो । तीमध्ये १८ जनाको पारिवारिक पुनर्मिलन भएको जनाइएको छ । सात जनाको आश्रममै मृत्यु भएको थियो । पाँच जनाले स्वेच्छाले आश्रम छाडेका थिए ।

हाल आश्रममा ६४ जनाले आश्रय लिइरहेको संयोजक तामाङले बताइन् । जसमा सबैभन्दा बढी ६० वर्षभन्दा माथिका २५ जना छन् । १८ वर्ष मुनिका सात जना, १८ देखि ४० वर्षसम्मका १५ जना र ४१ देखि ६० वर्षसम्मका १७ जनाले आश्रित रहेका छन् ।

आश्रममा शारीरिक अपाङ्गता भएका, पूर्ण अशक्त, भाषिक अपाङ्गता भएका, पक्षघात भएका बिरामी, कुपोषित, श्रवण शक्ति कमजोर भएका र दृष्टिविहीनहरु रहेका छन् । विसं २०७३ चैतम स्थापनामा भएको यस आश्रमले आश्रित मानवहरुलाई स्वास्थ्य सेवा पनि प्रदान गर्दै आएको छ । पाँच जना बालबालिकालाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्था मिलाइएको आश्रमले जनाएको छ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन आश्रम भवनलाई चाँडो पूर्णता दिई बढीमा दुई जनासम्मलाई सेवा दिने उद्देश्य रहेको आश्रमका अभिभावक एवं भवन निर्माण समितिका अध्यक्ष निर्मल श्रेष्ठले बताए ।

कार्यक्रममा गत आवको लेखा परीक्षण प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो । सेवा योगदानतर्फ रु ८७ लाख ७१ हजार चार सय ६९ आम्दानी र रु। ६९ लाख ६६ हजार चार सय ४९ खर्च भएको जनाइएको छ ।

पूँजीगत आम्दानी ६६ लाख ७७ हजार तीन सय १६ र पूँजीगत खर्च ८९ लाख ९० हजार आठ सय ५५ भएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । यस्तै अक्षयकोषमा २१ लख ३९ हजार एक सय ६८ रहेको जनाइएको छ ।

‘सडकआश्रित मानवरहित नेपाल’ घोषणाको लक्ष्यसहित देशका विभिन्न जिल्लामा मानवसेवा आश्रम सञ्चालनमा रहेका छन् । आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर, सडकआश्रित मानवहरुको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ ।

खोजीनितिबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung