३ श्रावण २०८३, आईतवार

 

सनराइज आवासीय माविमा भजन प्रतियोगिता सम्पन्न, सरस्वती पूजा र अक्षरारम्भ गर्नेको घुइँचो

बागलुङ । बागलुङ नगरपालिका–३ गुठीस्थित सनराइज आवासीय माविमा शुक्रबार पूजा–आराधना गरी भव्य रुपमा श्रीपञ्चमी मनाउनुका साथै भजन प्रतियोगिता पनि आयोजना गरिएको छ ।

प्रतियोगितामा विष्णु विक, ज्योति थापा ,मनिशा छन्त्याल थापाको समूह प्रथम, भुमिकला थापा ,रेडिना पुन र रुमा पुनको समुह द्धितीय र पुजा अर्याल ,पुष्पा क्षेत्री र सीता केसीको समूह तृतीय भएका थिए । भजन प्रतियोगितामा छ वटा समूहले भाग लिएको थियो ।

सनराइज आवासीय माविका प्रिन्सिपल चन्द्रबहादुर क्षेत्रीका अनुसार विद्यालयमा बिहानदेखि पूजा–आराधना गरिएको छ ।

देवी सरस्वतीको स्वरुपमा सजिएर विद्यार्थीले विद्यालयमा पूजाआजा गरेका थिए । ससाना बालबालिकाहरुले आजदेखि अक्षर आरम्भ गरेका छन् । आज २० जना शिशु बालबालिकाहरुले अक्षर आरम्भ गरेको विद्यालयले जनाएको छ ।

पञ्चमीबाट अक्षर आरम्भ गर्दा ज्ञान प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

देवदिनमा अक्षर लेख्न सुरु गरे आध्यात्मिक, भौतिक र सामाजिक ज्ञान प्राप्त हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीर बहादुर क्षेत्रीले बताउनुभयो ।कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष रत्न कुमारी खड्काले पनि मन्तव्य व्यक्त गरेका थिए ।

पञ्चमीमा सीप सिक्ने, अक्षरारम्भ गर्ने र नाक, कान छेडाउने लगायतका कार्य गरिन्छ । यो दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेकाले अभिभावकले विद्यालय जाने उमेरका बालबालिकालाई शिक्षण संस्थामा लगेर अक्षरारम्भ गराउनुछन् ।

विद्यार्थीसहित विद्यालयका शिक्षक, अभिभावक पनि पूजामा सहभागी थिए ।

कार्यक्रम सनराइज आवासीय माविका प्रिन्सिपल चन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, शिक्षक भुमिकला थापाको स्वागत र शिक्षक प्रकाश कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung