बागलुङ । प्रेस सेन्टर नेपाल बागलुङले जेष्ठ नागरिक र पत्रकारको स्वास्थ्य परीक्षण गरेर २२औँ स्थापना दिवस बागलुङ बजारमा मनाएको छ । बागलुङ नगरपालिका र जेष्ठ नागरिक जिल्ला संघ बागलुङको सहकार्यमा स्थापना दिवस मनाइएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले नागरिकलाई सुसुचित गर्ने पत्रकारको भएकोले उच्च मनोबलका साथ संचारकर्म गर्नु पर्ने बताउनुभयो ।
नेपालका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको प्रेस जगतले आफ्लो भूमिकावाट विचलित हुन नहुने उहाँको भनाई थियो । स्थापना दिवसको अवसरमा जेष्ठ नागरिक र पत्रकारको स्वास्थ्य परीक्षण गरेर समुदायसँग जोड्ने काम गरेकोमा थापाले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य पिङ्गलराज गौतम, जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष चिरञ्जिवी कुमार श्रेष्ठ, प्रेस सेन्टर नेपाल बागलुङका संस्थापक अध्यक्ष वद्रीप्रसाद शर्मा, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्वास्थ्य जाँच कार्यक्रममा ७० जना जेष्ठ नागरिक, पत्रकार र स्थानीयले सुगर र ब्लड प्रेसरको जाँच गरिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले नयाँ विश्वलाई जानकारी दिनु भएको थियो ।
स्वास्थ्य परीक्षण कार्यक्रममा बागलुङ नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृतहरु विष्णु प्रसाद शर्मा, प्रवेश पौडेल, वरिष्ठ समुदाय नर्सिङ निरीक्षक माधवी शर्मा, सिअहेव लक्ष्मण कार्की र अहेव शकुन्तला शर्माको सहभागिता रहेको थियो ।
कामक्रम प्रेस सेन्टर नेपाल बागलुङका कार्यवाहक अध्यक्ष अनिष खातीको अध्यक्षता, कोषाध्यक्ष दिलिप पर्तेलको स्वागत र सचिव विनोद थापाको संचालनमा सम्पन्न भएको थियो ।





































































































































































































