बागलुङ । कमजोर अवस्थामा रहको बजार अर्थतन्त्र चलायमान बनाउन उद्योगी व्यवसायीहरुको नेतृत्व गर्ने संस्था संक्रिय हुनु पर्ने नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले बताउनुभयो ।
प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा उद्योगी व्यवसायीले भोग्नु परेको समस्या समाधान गर्न र दिगो आर्थिक कार्यक्रम ल्याउनका लागि राजनैतिक दल र उम्मेदवारलाई दवाव सृजना गर्नु पर्ने उहाँको भनाई थियो ।
शनिबार नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउनुभयो ।
उहाँले सुस्त भएको आर्थिक बजारलाई चलायमान बनाउन, साना तथा मझौला व्यवसायीको हित सोच्न सक्ने, दिगो र आत्मनिर्भर औद्योगिक र वित्तीय कार्यक्रम ल्याउन सक्ने र समाजवादी अर्थनीति लागु गर्ने राजनैतिक नेतृत्वलाई निर्वाचनको बेला उद्योगी व्यवसायीले मत दिएर विजयी बनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका कार्यसमिति सदस्यहरु राजन शर्मा, राजु शर्मा, राजन सापकोटा, महिला उद्यमी संयोजक ललिता थापा, सल्लाहकारहरु ईश्वर मलेपती, लिलाम्बर बज्राचार्य, विकाश शाक्य, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पिंगल राज गौतम, प्रदेश सदस्य माधव शर्मा, बागलुङ नगरपालिका-४ का पार्टी अध्यक्ष यामलाल शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता र उपाध्यक्ष गगनबहादुर पुन मगरको संचालनमा सम्पन्न भएको थियो ।














































































































































































































