बागलुङ । राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५ औँ वार्षिकोत्वसका अवसरमा रासस गण्डकी प्रदेश कार्यालयका समाचारदाता रामबहादुर थापा ‘अविरल’ सहित विभिन्न शाखामा कार्यरत पत्रकार, स्थानीय समाचारदाता र उत्कृष्ट कर्मचारीसहित ११ जनालाई पुरस्कृत गरिएको छ ।
उत्कृष्ट समाचार सङ्कलनतर्फ थापा सम्मानित हुनु भएको हो । विहिबार रासस केन्द्रीय कार्यालय, भद्रकालीमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र रासस सञ्चालक समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले थापालाई नगद रु १० हजार र सम्मानपत्रले सम्मानित गरेका हुन् ।
पत्रकार थापा विगत २०६४ सालदेखि पत्रकारितामा सक्रिय छन् ।
साथै उत्कृष्ट सम्पादनतर्फ जनही रु १० हजार राशिको पुरस्कार तस्बिर सम्पादन शाखाका प्रमुख युद्धकुमारी खड्का र नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी गीता पराजुलीलाई यस्तै जनही रु १० हजार राशिको उत्कृष्ट समाचार सङ्कलनतर्फ केन्द्रीय कार्यालयका समाचारदाता सुशील दर्नाललाई प्रदान गरिएको छ ।
उत्कृष्ट जिल्ला समाचारदातातर्फ जनही रु २० हजार राशिको पुरस्कार कृष्णराम परियार (हेटौँडा), विजय रावत (जुम्ला) र रन्जिता अधिकारी (दाङ) लाई प्रदान गरिएको छ ।
उत्कृष्ट आलेखतर्फको रु २० हजार राशिको पुरस्कार रासस वीरगञ्ज कार्यालयका प्रमुख हिमाल लम्साललाई यस्तै रु २० हजार राशिको उत्कृष्ट फोटो तथा श्रव्यदृश्यबाट सुशीलबाबु थकाली (मुस्ताङ) लाई प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ट कर्मचारीतर्फ लेखाशाखा प्रमुख रुद्रमणि अधिकारी र चालक यादवप्रसाद गोतामेलाई जनही रु १० हजारसहित पुरस्कृत प्रदान गरिएको छ ।
विसं २०१८ फागुन ७ गते निजी क्षेत्रका दुई समाचार समिति नेपाल संवाद समिति र सगरमाथा संवाद समिति एकापसमा गाभिएर रासस स्थापना भएको हो ।













































































































































































































