३ श्रावण २०८३, आईतवार

 

प्रचण्डको ‘स्मार्ट मूभ’ले पनि किन काम गरेन ? जवाफ उनले खोज्नपर्छ

१० फागुनमा नेकपा मुख्यालय पेरिसडाडाँमा शिलापत्रकर्मीसँग अन्तरवार्ता दिँदै पुष्पकमल दाहाल प्रचण्डले जेन–जी भावनाअनुसार निर्णय गर्ने पहिलो दल नेकपा नै हो भनेर ठोकुवा गरेका थिए ।

तत्कालीन नेकपा माओवादीको केन्द्रीय कमिटी विघटन गर्दै प्रचण्डले आफूलाई संयोजक घोषणा गरेका थिए । उनले पार्टीको नाम र चुनाव चिह्नसमेत फेर्ने यसअघिको प्रस्ताव पुनः फ्लोर गरी पारित गराएका थिए ।

पहिलेदेखि नै पार्टी एकता गर्ने भनेर चर्चा भइरहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एससँग उनले सघन रूपमा वार्ता अघि बढाए । नेपालमाथि अदालतमा भ्रष्ट्राचार मुद्दा थियो । उक्त मुद्दाको फैसला नभई पार्टी एकता गर्नुहुँदैन भन्ने कुरा उनले इन्कार गरे । विप्लव नेतृत्वको नेकपासँग पनि उनले वार्ता गरे । पार्टी एकका लागि निरन्तर छलफल गरिरहे ।

माओवादी केन्द्रले काठमाडौंमा ९–१० असोजमा सातौँ पूर्ण बैठक राख्यो । उक्त बैठकमा मै हो प्रचण्डले केन्द्रीय कमिटी भङ्ग गर्ने प्रस्ताव राखेको ।

दुई दिनसम्म चलेको उक्त बैठकले प्रचण्डको प्रस्ताव परिमार्जनसहित स्वीकृत गर्दा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माको प्रस्ताव अस्वीकार गरेको थियो । उपाध्यक्ष श्रेष्ठले २१ फागुनको चुनावपछि मात्रै महाधिवेशन गर्न सुझाव दिएका थिए भने उपमहासचिव जनार्दन शर्माले पदाधिकारीलाई निर्देशक समितिमा रूपान्तरण गर्न सुझाव दिएका थिए ।

अन्ततः प्रचण्डले नेपालसहितका ८ घटकसँग १६ कात्तिकमा १८ बुँदे सहमति गरे । उक्त सहमतिमा प्रचण्ड संयोजक र नेपाल सहसंयोजक रहने सहमति गरेका थिए । पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रहने र चुनाव चिह्न ‘तारा’ हुने सहमति थियो । सोही सहमतिमा हो १९ कात्तिकमा एकता राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरिएको ।

११ कात्तिकमा म पनि उक्त एकता घोषणा सभामा पुगेको थिएँ । भृकुटीमण्डपको सभाहलमा भरिभराउ शुभेच्छुकमाझ प्रचण्ड र नेपालले जोसिला कुरा गरेका थिए ।

प्रचण्डले जेन–जी आन्दोलनको भावनाको रक्षाका लागि आफूले प्रयत्न गरिरहेको र उक्त विद्रोहको भावना सबैभन्दा अघि आफूले बुझेको भन्दैगर्दा पूर्वसहकर्मी केपी ओलीप्रति रुखो टिप्पणी गरेका थिए । उनले नवपुस्ताको भावना बुझ्न नसकेको अरोपसमेत लगाएका थिए ।

जेन–जी उमेर समूहका नवपुस्ताको प्रदर्शन हुनुअगाडि नै उनले रवि लामिछानेलाई नख्खु कारागारमै भेटेर तत्कालीन सरकारले अन्याय गरेको भन्न पनि छुटाएका थिएनन् । पछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारसँग उनले हरतरहले नजिक रहने प्रयास गरे ।

सकेसम्म स–साना राजनीतिक घटकसँग नजिकहुँदै तिनलाई पार्टीमा भित्र्याएका प्रचण्डले सुदूरपश्चिममा बलियो भनिएका भीम रावलदेखि राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपासम्म मिलाए ।

प्रचण्डले सुरुदेखि नै चुनावको अडान लिए । जतिबेला नेकपा एमालेलगायतका दलहरूले सुरक्षालगायतका कारण देखाउँदै चुनाव सम्भव नभएको बताएका थिए भने एमाले अध्यक्ष अ‍ोलीले त असंवैधानिक सरकारले वैधानिक चुनाव गराउनै नसक्ने ठोकुवा गरेका थिए ।

प्रचण्डको अर्को ‘स्मार्ट मूभ’ उम्मेदवार चयनमा पनि देखियो । उनले साँच्चै नयाँ अनुहारहरू चुनावी मैदानमा उतारे । झापामा अशेष घिमिरे, रञ्जित तामाङदेखि खोटाङमा हरि रोका, सल्यानमा रमेश मल्लसम्म नयाँ अनुहार थिए । बागलुङबाहेक १६४ स्थानमा उम्मेदवारी दिँदा प्रचण्ड भने गोरखाबाट रुकुम पूर्व पुगेका थिए ।

शिलापत्रसँगको अन्तर्वार्तामा उनले रुकुम पूर्व जानूको कारण पनि बताएका थिए । २०७४ सालको चुनावमा चितवनबाट निर्वाचित उनी २०७९ मा गोरखाबाट निर्वाचित भएका थिए ।

पटक–पटक निर्वाचन क्षेत्र बदल्नुमा हिमाल, पहाड र तराईका जनताको भावनासँग एकाकार हुन यसो गरिएको उनको तर्क थियो । यो चुनावमा रुकुम पूर्व पुग्नु पनि उनले जनयुद्धसँगको साइनो जोडेका थिए ।

त्यही अन्तर्वार्तामा उनले नेकपा जेन–जी विद्रोहपछिको भावना समेट्ने दल बताउँदै आफ्नो दलको तर्फबाट बढी सिट ल्याएर पहिलो पार्टी बन्ने दाबी गरेका थिए । उनका अर्को दाबी पनि थियो । अन्तर्वार्तामा भनेका थिए, ‘२०५२ सालदेखि नै नेपालको राजनीतिको मूल मियो मेरै वरिपरि छ।’

तर, २१ फागुनमा सम्पन्न चुनावमा उनले आफ्नो क्षेत्रबाट जतिे पनि उनको दलका अधिकांश उम्मेदवारले नराम्रोसँग पराजय भोगे । यो नजिता प्रचण्डको दाबीविपरीत छ । नेकपाको ब्यानरमा झन्डै २६ घटक समाहित भए पनि प्रचण्डले तिनीहरूसँग जनमत छैन भन्ने बुझेनन् ।

ठूला ठूला अनुहारहरूलाई अग्र भागमा राख्दैमा तिनको जनाधार आउँछ नै भन्ने ग्यारेन्टी थिएन । प्रचण्डले केवल प्रचार मात्रै गराएका थिए । तर, उनको प्रयास चुनावमा सफल हुन सकेन ।

अन्ततः प्रचण्ड नराम्ररी खुम्चिए । कोशीमा एक सिट पनि जोगाउन सकेनन् भने मधेशमा पनि सिट जोगाउन सकेनन् । हालसम्म रोल्पामा वर्षमान र उनले मात्रै खाता खोलेका छन् ।

संसदीय राजनीतिमा प्रचण्डलाई चतुर खेलाडी मानिन्छ । उनी २०४६ सालदेखि निरन्तर नेतृत्वमा छन् । दश वर्षे सशस्त्र जनयुद्धदेखि शान्ति प्रक्रियाहुँदै गणतन्त्र स्थापना भएदेखि नै उनी नै शक्तिमा छन् ।

तर, अब प्रचण्डको त्यो प्रचण्ड राप ताप क्षीण बन्दै गएको सङ्केत चुनावमार्फत आइरहेको छ । बेलैमा यो सन्देशको मर्म उनले बुझ्नु जरुरी छ ।

जेन–जी विद्रोहपछि प्रचण्डले केसम्म गरेनन् रु नवपुस्ताको भावना समेट्ने अनेक प्रयास गरे । पार्टीको नाम फेरे । चुनाव चिह्न बदले । दुई दर्जन घटकलाई एकै दलमा सामेल गराउँदा पनि जनताले उनको दललाई किन पत्याइदिएनन् रु जवाफ उनले खोज्नपर्छ ।

अब प्रचण्डले गम्भीर समीक्षा पक्कै गर्लान् । हिजो २०६४मा आफूले नेतृत्व गरेको त्यो दल, र आज १८ वर्षपछि आफैँले नेतृत्व गरेको नेकपाबीच किन यति ठूलो फरक पर्‍यो रु यो समीक्षा गर्दैगर्दा प्रचण्डले भुल्नु हुँदैन– पटकपटक पाएको अवसर कसरी गुम्यो ? जनयुद्धमा सँगसँगै हिँडेका यात्रीहरू किन छुटे ? एउटै बन्दुकको सिरानी लगाएका सारथिहरू आज कहाँ कहाँ छन् ? यो चुनावपछि प्रचण्डले मिहिन विश्लेषण गर्नेछन् ।

त्यो विश्लेषण गर्दै गर्दा पहिले आफैँले ‘गणतन्त्रको सुन्दर फूल’ भनेर प्रशंसा गरेका र पछि ‘जेलेन्स्की’को उपमा दिएकाहरूले राजनीतिमा कसरी र किन विस्थापित गर्दै छन् भन्ने बुझ्नुपर्छ ।

अब राजनीतिमा अभिभावक बनेर नवपुस्तालाई नेतृत्वमा स्थापित गर्नेतर्फ जाँदा मात्रै आफूले पाएको राजनीतिक उचाइ सदाका लागि प्राप्त भइरहन्छ भन्ने बुझ्नुपर्छ । र, यो बुझ्नुपर्छ– एउटा असल लिडरले अर्को पुस्ताका लागि सफल लिडर जन्माउँछ । समयको हरेक चाललाई नजिकबाट बुझ्न प्रयास गर्ने र ३६ वर्ष निरन्तर सँगको ‘सुप्रिमो’ प्रचण्डले ढिला होला, तर यो कुरा पक्कै बुझ्नेछन् ।

प्रतिपक्षी नेता रहेका उनले जेन–जी विद्रोहमा सडकबाट तेर्सिएका प्रश्नहरू ओली–देउवा लक्षित मात्रै छन् भनेर बुझ्नु गलत थियो । उनले आफू उक्त आन्दोलनको भावनासँग एकागार रही रहँदा आफ्ना कार्यालय र घरसमेत जलेको स्मरण शिलापत्रसँग गरेका थिए ।

उनले स्मार्ट मूभ लिँदै गर्दा नवपुस्ताले ओली–देउवासँग मात्रै होइन, स्वयम् प्रचण्डसँग पनि कयौँ प्रश्न गरेका थिए भन्ने भुलेका थिए । सत्तारोहणका क्रममा सत्ताका वरिपरि आफन्त, सन्तानलाई मात्रै नजिक पार्ने र जनयुद्धमा ज्यान गुमाएकाप्रति प्रचण्डले बेवास्ता गरेको आरोप उनले भूलेका थिए ।

यत्तिका समय शासन गर्ने समय प्राप्त गरे पनि नागरिक किन सुशासन भएन, भ्रष्ट्राचार बढ्यो भनेर गुनासो गरिरहेका छन् ? किन नागरिकको जीवनस्तर जस्ताको त्यस्तै छ रु रोजगारीका लागि किन खाडी जानुपर्ने बाध्यता हटेन रु यी लगायत बग्रेल्ती प्रश्नको जवाफ काममार्फत दिने अवसर मैले कसरी खेर फालेँ भनेर चुकेका थिए ।

त्यसैले यो चुनावमा रुकुमबाट जितेसँगै प्रचण्डको अनुहार अँध्यारो छ । उनकै शब्द सापटी लिएर भन्नुपर्दा, उनी जङ्गलको एक्लो सिंह त होलान् ।

तर, त्यो सिंहसँग अब सिकार खेल्न सक्ने सामर्थ्य बाँकी रहेन । अब ती ६४ का प्रचण्ड रहेनन् । उनले आफूसँगै लामो राजनीतिक विरासत बोकेका सहयोद्धाहरूको राजनीतिक यात्रामाथि पनि प्रश्न जन्माइदिएका छन् ।

आफ्नै राजनीतिक सल्लाहकार हरिबोल गजुरेलमाथि गरेको कारबाहीको पुष्टि गर्न सकेनन् ।

मधेश प्रदेशमा आफ्नै सांसद रहबर अन्सारीले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै अनुहारमा मोसो दल्दा आफ्नो अनुहारसमेत कालो भएको महसुस गर्न सकेनन् ।

अब एउटै संसदमा उनै रहबरसँग प्रचण्ड हुनेछन् । कयौँ रहबरहरू आफ्नै नेतृत्वमा भएको यति ठूलो परिवर्तनको आन्दोलनको कुइँनेटोमा किन मोडिए यो संसदमा प्रचण्डले पक्कै जवाफ खोज्नेछन् ।

सिलापत्रबाट

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung