बागलुङ । गलकोट समाज चितवनले टाडीँमा राहत वितरणसँगै वृद्ध आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
समाजले चितवनको रत्ननगर-१३ अमिलियामा रहेको असहाय वृद्ध कल्याण समाजलाई रु १५ हजार सहयोग प्रदान गरिएको गलकोट समाज चितवनका अध्यक्ष बलबहादुर खत्रीले बताउनुभयो ।
समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको अध्यक्ष खत्रीले बताउनुभयो ।
उक्त आश्रममा अहिले ९ जना महिला र ५ जना पुरुष गरी १४ जनाले आश्रय लिइरहेका छन् । उक्त आश्रममा २०७२ सालमा २ जना वृद्धहरुलाई भित्राएर सुरुवात गरिएको आश्रमका संस्थापक सुनिता पौडेलले बताइन् ।
ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको यो आश्रम विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको छ । समाजले अन्य ठाउँमा २ वटा आश्रममा सहयोग गर्दै आएको समाजका उपाध्यक्ष मिन बहादुर खत्रीले जानकारी दिनुभयो ।
आगलागीबाट पीडित समाजकी आजीवन सदस्य जुना खत्रीलाई रु २० हजार प्रदान गरिएको राहतकोष प्रमुख कृष्ण थापाले जानकारी दिनुभयो । खत्रीको घरमा केहि समय अगाडि आगो लागेर क्षेति पुगेको थियो ।
कार्यक्रम गलकोट समाज चितवनका अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षता, राहत संयोजक कृष्ण थापाको धन्यवाद मन्तव्य र सचिव प्रेम प्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।















































































































































































































