बागलुङ । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङले चैत २१ र २७ गतेसम्म श्रीमद् भागवत महापुराण पितृ सप्ताह आयोजना गरिएको छ ।
जेष्ठ नागरिक दिवा सेवा, असहाय, विपन्न बालबालिका, अपाङ्ग र अशक्तहरुको उद्धार र सेवाको लागि श्रीमद् भागवत महापुराण आयोजना गर्न लागिएको हो ।
श्रीमद् भागवत महापुराणको तयारीलाई सामुदायिक सेवा केन्द्रले तिब्रता दिएको छ । महापुराण पितृ सप्ताह चैत्र २१ र २७ गते बागलुङ बजारको चिप्लेटी बसपार्कमा हुँदैछ ।
महापुराण सम्पन्न गर्न सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङकी अध्यक्ष लिला देवी खड्काको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरेर तयारी थालिएको छ ।
उहाँको अनुसार अहिले आर्थिक उपसमितिले देश विदेशमा रहनु भएको समाजसेवी, चन्दादाता र बागलुङका स्थानीय पालिकासँग यस अभियानमा सहकार्यका लागि भेटघाट तथा छलफल गरिरहेको छ ।
मानवता र मानवताको रक्षाको लागि कार्यक्रममा विभिन्न विद्धान वक्ताहरुको प्रवचन समेत दिने कार्यक्रम रहेको छ । महापुराणमा १६ लाख खर्च हुने अनुमान गरिएको सचिव सुमन बाँस्कोटाले जानकारी दिनुभयो । महायज्ञमा आन्तरिक धार्मिक पर्यटक भित्राएर उनीहरुलाई बागलुङका धार्मिक तथा पर्यटकीय गन्तव्यमा भम्रण गराउने उद्देश्य पनि रहेको छ।
महापुराणमा विभिन्न भजन टोलीहरुद्धारा सांगितिक प्रस्तुती रहने छ ।
यस महापुराणबाट प्राप्त रकमबाट लागुऔषध नियन्त्रण, साइबर अपराधको बारेमा सचेतना शिक्षा चलाउने, घरेलु हिंसा, महिला हिंसा, बालश्रम शोषणको बारेमा जनचेतना कार्यक्रम संचालन गर्ने, दैवी प्रकोप निको बारेमा जानकारीमुलक कार्यक्रम पनि संचालन गर्ने सामुदायिक सेवा केन्द्रकी अध्यक्ष खड्काले नयाँ विश्वलाई जानकारी दिइन् ।
महापुराणको उद्घाटन सर्वसिद्धिधाम पञ्चकोटका परिकल्पनाकार स्वामी कमलनयन आचार्य गर्नु हुने भएको छ ।














































































































































































































