बागलुङ । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङद्धारा आयोजित श्रीमद् भागवत महापुराण पितृ सप्ताह सुरु भएको छ । शनिबार बागलुङ नगरपालिका ३ चिप्लेटी बसपार्कमा स्वामी कमलनयन आचार्यले महापुराण सप्ताहको उद्घाटन गर्नु भएको हो ।
सामुदायिक सेवा केन्द्रले जेष्ठ नागरिक दिवा सेवा, असहाय, विपन्न बालबालिका, अपाङ्ग र अशक्तहरुको उद्धार र सेवाको लागि आयोजित महापुराणले मानव जगतको कल्याण हुने स्वामी कमलनयन आचार्यले बताउनुभयो ।
सामुदायिक सेवा केन्द्रकी अध्यक्ष तथा श्रीमद् भागवत महापुराण पितृ सप्ताहकी संयोजक लिला देवी खड्काले जेष्ठ नागरिकको दिवा सेवा संचालन गर्न, असहाय, विपन्न बालबालिका, अपाङ्ग र अशक्त मानिसहरुको उद्धार र सेवाको लागि आयोजित महापुराणमा सबै समाजसेवी, चन्दादाता, नागरिक समाज, संघसंस्था, सर्वसाधारण, उद्योगी व्यवसायी र प्रवासमा रहनु हुने सबै नेपालीले मानवताको रक्षा र विकासको लागि आर्थिक भौतिक सहयोग गर्न आव्हान गरिन् ।
महापुराण चैत्र २७ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत महापुराण पितृ सप्ताहकी सचिव सुमन बाँस्कोटाले जानकारी दिइन् ।महापुराणको कथा वाचन पंडित तीर्थराज उपाध्याय कृष्णले गर्नु भएको छ ।। कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सल्लाहकारहरु मन केसी, शकुन्तला शर्मा, विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङकी अध्यक्ष तथा श्रीमद् भागवत महापुराण पितृ सप्ताहकी संयोजक लिला देवी खड्काको अध्यक्षता, सचिव सुमन बाँकोटाको स्वागत मन्तव्य र सदस्य निशान खड्काको संचालनमा सम्पन्न भएको थियो ।
श्रीमद् भागवत महापुराण पितृ सप्ताह समिति र आर्थिक उपसमितिले देश विदेशमा रहनु भएको समाजसेवी, चन्दादाता, सर्वसाधारण, उद्योगी व्यवसायी, संघसंस्था र बागलुङका स्थानीय पालिकासँग आर्थिक संकलनको लागि भेटघाट तथा छलफललाई तिब्रता दिएको छ ।
कार्यक्रममा मानवता र मानवताको रक्षाको लागि विभिन्न विद्धान वक्ताहरुको प्रवचन समेत दिने कार्यक्रम रहेको छ । महापुराणमा १६ लाख खर्च हुने अनुमान गरिएको सचिव बाँस्कोटाले जानकारी दिनुभयो ।
महायज्ञमा आन्तरिक धार्मिक पर्यटक भित्राएर उनीहरुलाई बागलुङका धार्मिक तथा पर्यटकीय गन्तव्यमा भम्रण गराउने उद्देश्य पनि रहेको छ। महापुराणमा विभिन्न भजन टोलीहरुद्धारा सांगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यस महापुराणबाट प्राप्त रकमबाट लागुऔषध नियन्त्रण, साइबर अपराधको बारेमा सचेतना शिक्षा चलाउने, घरेलु हिंसा, महिला हिंसा, बालश्रम शोषणको बारेमा जनचेतना कार्यक्रम संचालन गर्ने, दैवी प्रकोप निको बारेमा जानकारीमुलक कार्यक्रम पनि संचालन गर्ने महापुराणकी संयोजक खड्काले नयाँ विश्वलाई जानकारी दिइन् ।













































































































































































































