बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा हिउँ चितुवा गणनाको तयारी थालिएको छ ।
पाँच–पाँच वर्षमा नाउर र झारल गणना गरिने ढोरपाटनमा यसपटकबाट हिउँ चितुवा गणना गर्ने तयारी थालिएको हो ।
नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा पाइने हिउँ चितुवा पहिलोपटक गणना गर्न थालिएको हो ।
ढोरपाटन सिकार आरक्षमा हिउँ चितुवा गणनाका लागि गणकलाई तालिम दिने तयारी थालिएको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो ।
एक हजार ३२५ वर्ग कि।मि। क्षेत्रफलमा फेलिएको आरक्षको मुख्यालय बागलुङमा रहेपनि म्याग्दी र रुकुम सम्म फैलिएको छ । ४५ दिनमा गणना सकिने आरक्षले जनाएको छ ।
आरक्ष कार्यालयका अनुसार पछिल्लो २०७९ सालको गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । हरेक पाँच वर्षमा नाउर झारल गणना गरिने भएपनि हिउँ चितुवा पहिलो पटक गणना गर्न थालिएको हो ।
सुवेदीका अनुसार गणनामा आरक्षका कर्मचारी, तालिमप्राप्त गणक तथा स्थानीयको सहभागीता रहनेछ । हिउँ चितुवा गणनाका लागि उच्च पहाडी भेगमा रहेको सिकार ब्लकमा ५६ क्यामेरा जडान गरिने तयारी आरक्षको छ ।
आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँ चितुवा गणना गर्ने तयारी आरक्षले गरेको छ ।
रेन्जर सुवेदीका अनुसार हिउँ चितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ ।
यस्तै हिउँ चितुवाको जंगलमा भेटिएको दिसा संकलन गरेर प्रयोगशालामा परीक्षण गरिन्छ भने पदचिन्ह तथा संकेत सर्वेक्षण पाइलाका आधारमा समेत चितुवाको संख्या गणना गर्न सकिन्छ ।













































































































































































































