बागलुङ । बागलुङ नगरपालिकाको आर्थिक सहयोग तथा “देश विकासका लागि एकता युएनडि नेपालको प्राविधिक सहयोगमा बागलुङ नगरपालिका वडा नं १२, १३ र १४ मा माटो परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
चैत २७ र २८ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा कुल ३४० वटा माटोका नमुना संकलन गरी परीक्षण गरिएको थियो। यसअघि चैत २४ गते ती वडाका अगुवा कृषकहरूलाई नमुना संकलन सम्बन्धी तालिम प्रदान गरिएको थियो।
परीक्षणको नतिजाअनुसार अधिकांश माटोमा अम्लीयपन विगत तीन वर्षको तुलनामा घटेको पाइएको छ।
परीक्षण गरिएका नमुनामध्ये ५६ प्रतिशत माटोमा न्यून अम्लीयपन रहेको देखिएको छ। तीन वर्षअघि धेरै नमुनाको अम्लीयपन ४।० भन्दा कम रहेकोमा हाल अधिकांश नमुनामा ५।८ भन्दा माथि पुगेको पाइएको छ।
त्यसैगरी, माटोमा पोटासियम र फस्फोरसको मात्रा तुलनात्मक रूपमा राम्रो देखिएको छ भने केही स्थानमा नाइट्रोजनको कमी रहेको पाइए पनि समग्रमा माटोको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।
कार्यक्रममा कृषि प्राविधिकहरू सुजन सापकोटा, सोफिया महर्जन, सुयोग भण्डारी तथा नगरपालिका कृषि शाखा बागलुङका नाप्रास अर्जुन अधिकारीको उपस्थिति रहेको थियो।
यस कार्यक्रमले कृषकहरूलाई आफ्नो जमिनअनुसार उपयुक्त बाली छनोट तथा मलखादको सही प्रयोगबारे जानकारी प्राप्त गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।













































































































































































































