३ श्रावण २०८३, आईतवार

 

हिउँ चितुवा गणना गर्न क्यामेरा जडान

बागलुङ । ढोरपाटनको उच्च पहाडी क्षेत्रमा हिउँ चितुवा गण्ना गर्नका लागि क्यामेरा जडान गरिएको छ । ढोरपाटनको उच्च पहाडी क्षेत्रको ५६ स्थानमा अत्याधुनिक क्यामेरा जडान गरिएको हो ।

१५ दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाईमा पुगेरसेन्सर सहितको ५६ क्यामेरा जडान गरिएको ढोरपाटन सिकार आरक्षले जनाएको छ ।

ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भएपनि अहिले सम्म गणना हुन सकेको थिएन । हिउँ चितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक, शिकार आरक्षका कर्मचारी र अनुभवी डोल्पाका हिउँ चितुवा गणकहरु क्यामेराज जडान गरेर फर्किका छन् ।

गणना ४५ दिनमा सकिने र तथ्याङ्क सार्वजनिक हुने छ । ५६ क्यामेरा तीन समूहले ६ वटा सिकार ब्लकमा राखेर फर्केको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले बताउनुभयो । ओडारमा बास बसेर, कष्टकर हिउँ छिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीको भनाई छ ।

हिउँ चितुवा गणनामा १५ जना कर्मचारी तथा प्राविधिकहरु खटिएका थिए । ढोरपाटन सिकार आरक्षको तीन हजार मिटरदेखि पाँच हजार ५०० मिटरभन्दा माथिसम्म हिउँ चितुवाको बासस्थान रहेको पाइएको छ ।

एक हजार ३२५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको आरक्षको मुख्यालय बागलुङमा रहेपनि म्याग्दी र रुकुम सम्म फैलिएको छ । वैशाखको ११ गतेबाट राख्न थालिएको क्यामेरा ४५ दिनपछि संकलन गरेर कार्यालयमा ल्याएर गणना गरिने छ ।

आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँ चितुवा गणना गर्नका लागि क्यामेरा जडान गरिएको हो । हिउँ चितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung