बागलुङ । नेपाल उद्योग व्यापार महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा पहिलो बैठक सम्पन्न भएको छ ।
वैशाख २० गते नवलपुर, गैडाकोटको नारायणी रिसोर्टमा सम्पन्न चौथौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनबाट खिम नारायण पराजुलीको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिले आइतबार पदभार ग्रहण तथा बैठक आयोजना गरेको हो ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको थियो ।
साथै विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । आज बसेको बैठकले खाता संचालन, विभिन्न विभागहरु गठन, अक्षय कोष निर्माण गर्ने विषयलगाएतका विभिन्न निर्णयहरु गरेको छ ।
कार्यक्रममा पूर्वमन्त्री विरोध खतिवडा, नेपाल उद्योग व्यापार महासंघका संस्थापक अध्यक्ष श्यामबहादुर पाठक, निर्वतमान अध्यक्ष खिम लाल भण्डारी, निर्वतमान वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका पूर्वअध्यक्ष मदन कुमार आचायर्, नेपाल पर्यटन वोर्डका पूर्वउपाध्यक्ष रामप्रसाद सापकोटा, निर्वाचन समितिका संयोजक अधिवक्ता दामोदर घिमिरेले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल उघोग व्यापार महासंघका अध्यक्ष खिम नारायण पराजुलीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष यज्ञ प्रसाद पन्तको स्वागत र महासचिव सूर्य थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































