३ श्रावण २०८३, आईतवार

 

बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बागलुङ। बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। बुधबार बागलुङ नगरपालिकाको चौथो वार्षिकोत्सवको अवसरमा उक्त घोषणा गरिएको हो ।

बालबालिकालाई आवश्यक १३ किसिमका रोगहरु विरुद्ध दिइने खोप सुनिश्चित गरिएको र आगामी दिनमा समेत खोप कार्यक्रमलाई निरन्तरता दिँदै दिगोपना कायम राख्ने प्रतिवद्धतासहित नगरपालिकालाई पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरिएको हो।

उक्त अभियानको लागि १५ महिनादेखि २४ महिनासम्मका बालबालिकाहरुलाई घरधुरी सर्वक्षेणबाट पाउनु पर्ने सबै खोप पाएको सुनिश्चित गरिएको छ ।

उक्त अभियानलाई जिल्ला खोप समन्वय समितिले पनि प्रमाणिकरण गरि सकेको छ ।

साथै पूर्णखोप सुनिश्चितता एवं दिगोपनाको लागि उत्कृष्ठ कार्य गरेकोमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद शर्मा, नर्सिङ अधिकृत माधवी शर्मा लगाएत नगरको सबै वडाका स्वास्थ्य संस्थाहरु कार्यक्रमका प्रमुख अथिति बागलुङ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत ईश्वरी पौडेलले कदरपत्रले सम्मानित गरेका थिए ।

चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय समुदाय र संचारकर्मीको सक्रिय सहभागिताले यो उपलब्धि सम्भव भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले नयाँ विश्वलाई बताउनुभयो ।

नगरवासीको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन यस सम्मानले थप प्रेरणा प्रदान गरेको खनालले बताउनुभयो ।

घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले पूर्ण खोप सुनिश्चितता स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसलाई निरन्तर कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। साथै, खोपबाट वञ्चित हुन सक्ने कुनै पनि बालबालिका नछुट्ने गरी निगरानी प्रणाली अझ सुदृढ गरिने उहाँले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung