बागलुङ । वैशाख २७ गतेदेखि सुरु भएको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा बागलुङमा पुगेको छ।
यो झरी वर्षामा कोही पनि रहन नपरोस् सडकमा भन्ने नारासहित सुरु गरिएको यात्राको क्रममा बागलुङबाट ५ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरी मानव सेवा आश्रमको संरक्षणमा राखिएको मानव सेवा आश्रम बागलुङकी अभिभावक अधिवक्ता लक्ष्मी बाँस्कोटालाई जानकारी दिनुभयो ।
ढोरपाटन नगरपालिकामा २ जना, गलकोट नगरपालिकामा १ जना, बडिगाड नगरपालिकामा १ जना र बागलुङ नगरपालिकामा १ जनाको उद्धार गरिएको छ । टोलीलाई बागलुङ नगरपालिकाले विहिबार स्वागत गरेको छ ।
स्वागत कार्यक्रममा गायक तथा सामाजिक अभियन्ता आनी छोइङ डोल्मा, बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, मानव सेवा आश्रमको केन्द्रीय समितिको महासचिव सुशिला केसी रुपाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काको अध्यक्षता, आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठको स्वागत र नगरपालिकाका प्रशासन प्रमुख भिमसेन पन्तको संचालनमा सम्पन्न भएको थियो ।
मानव सेवा आश्रमले देशभरका सडकपेटी, मन्दिर परिसर तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धार, उपचार तथा पुनर्स्थापनाका लागि “मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा” सञ्चालन गरिरहेको हो।
हालसम्म १३२ जना सडक मानवको उद्धार गरिएको छ।अभियान आगामी जेठ २२ गतेसम्म सञ्चालन हुने आश्रमले जनाएको छ। हाल सातै प्रदेशका विभिन्न जिल्लामा मानव सेवा आश्रमका शाखामार्फत उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनको काम भइरहेको छ।
आश्रमले विगतका वर्षहरूमा पनि सयौं सहयोगापेक्षी मानवहरूको उद्धार गरिसकेको जनाएको छ। मानव सेवा आश्रमका सातै प्रदेश र २३ जिल्लामा शाखा रहेका छन्।





तस्वीर : मानव सेवा आश्रम बागलुङ













































































































































































































