बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले घरेलु तथा स्थानीय उत्पादनलाई एकीकृत गरी प्रभावकारी बजारीकरण गर्ने नीति महासंघले अघि सारेको बताउनुभएको छ।
बागलुङ उद्योग वाणिज्य संघको ६२औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले स्थानीय स्तरमा उत्पादन हुने कृषि उपज, घरेलु वस्तु तथा महिला उद्यमीहरूले तयार पारेका हस्तकलाका सामग्रीको बिक्री प्रवर्द्धनका लागि सातै प्रदेश र केन्द्रमा ब्रान्डिङसहित शोरुम तथा स्टल स्थापना गरिने जानकारी दिनुभयो।
उहाँले स्थानीय उत्पादन बजार अभावका कारण खेर जाने अवस्थाको अन्त्य गर्न महासंघले प्रत्यक्ष रूपमा पहल गर्ने उल्लेख गर्दै जिल्लाजिल्लामा उत्पादन भएका वस्तुलाई राष्ट्रिय बजारसँग जोड्ने अभियान सञ्चालन गरिने बताउनुभयो।
“अब तपाईंहरूले उत्पादन गरेका घरेलु वस्तु र हस्तकलाका सामग्री बजार नपाएर थन्किने अवस्था रहने छैन। महासंघले नै शोरुम सञ्चालन गरेर स्थानीय उत्पादनको बजारीकरणमा सघाउनेछ,” वैद्यले भन्नुभयो।

बागलुङ उद्योग वाणिज्य संघले महासंघको स्थापना र विस्तारमा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै उहाँले बागलुङ उद्यमी उत्पादन गर्ने उर्वर भूमि भएको बताउनुभयो। आगामी दिनमा सातै प्रदेशमा उद्यमशीलता विकाससम्बन्धी तालिम सञ्चालन गरी नयाँ उद्यमी उत्पादन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।
वरिष्ठ उपाध्यक्ष वैद्यले व्यवसायीमैत्री आर्थिक नीति निर्माणका लागि महासंघले सरकारसँग निरन्तर समन्वय र सुझाव दिँदै आएको उल्लेख गर्दै निजी क्षेत्रलाई धराशायी हुन नदिन आवश्यक नीतिगत सुधारका लागि पहल भइरहेको बताउनुभयो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले गण्डकी प्रदेश सरकारले उद्यमीको हितमा नीतिगत सुधार गर्दै आएको बताउँदै व्यवसायीलाई टिकाउन आवश्यक वातावरण निर्माण भइरहेको धारणा राख्नुभयो।
त्यसैगरी महासंघका केन्द्रीय सदस्य सुमन श्रेष्ठ, धौलागिरी क्याम्पसका क्याम्पस प्रमुख डा.सुदर्शन सिलवाल, रास्वपाका नेता खिमानन्द पौडेल, नेपाल वितरक संघ गण्डकी प्रदेशका अध्यक्ष बद्री ढुङ्गाना, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धीसागर पोखरेल तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा अविरलुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
साधारणसभा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सचिव इन्द्रमणि पौडेल अर्जुनुले गर्नुभएको थियो भने समापन वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले गर्नुभएको थियो।
विसं २०२० सालमा संस्थापक अध्यक्ष शिवकुमार प्रधानको नेतृत्वमा स्थापना भएको बागलुङ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत सदस्यका रूपमा उद्योग, व्यापार तथा निजी क्षेत्रको हितमा निरन्तर सक्रिय रहँदै आएको छ।













































































































































































































