बागलुङ । बागलुङ उद्योग वाणिज्य संघको ६२औँ साधारण सभाको अवसरमा पूर्वअध्यक्ष श्याम श्रेष्ठद्वारा स्थापना गरिएको ‘उद्यमी प्रोत्साहन तारा मेमोरियल अवार्ड’ बाट नवउद्यमी तारा शर्मा सम्मानित भएकी छन्।
शनिबार आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य तथा महासचिव इन्द्रमणि पौडेल ‘अर्जुन’ले शर्मालाई नगद ११ हजार ३ सय ३३ रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका हुन्।
श्री टी एण्ड टि की सञ्चालक तारा शर्माले उक्त सम्मानले उद्योग व्यवसायको विकास, विस्तार तथा संरक्षणमा अझ बढी उत्साह र जिम्मेवारीका साथ अघि बढ्न प्रेरणा मिलेको बताइन्।
संघले साधारण सभाकै अवसरमा उद्योगी–व्यवसायी, पत्रकार, विद्यार्थी तथा विभिन्न मन्दिर व्यवस्थापन समितिलाई समेत सम्मान गरेको थियो।
कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन महासचिव इन्द्रमणि पौडेल ‘अर्जुन’ले गरेका थिए भने समापन वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले गरेका थिए।
वि।सं। २०२० सालमा संस्थापक अध्यक्ष शिवकुमार प्रधानको नेतृत्वमा स्थापना भएको बागलुङ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत सदस्यका रूपमा उद्योग, व्यापार तथा निजी क्षेत्रको हित, संरक्षण र प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएको छ।













































































































































































































