२१ असार २०८३, आईतवार

 

गण्डकी प्रदेश सरकारले उद्योग वाणिज्य नीति तयार गर्ने : उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल

बागलुङ । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले उद्यमी व्यवसायीहरू केवल करदाता मात्र नभई राष्ट्र निर्माणको आर्थिक समृद्धिको मेरुदण्ड भएको बताउँदै प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारी गरेरै अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन् ।

शनिबार लेखनाथ उद्योग वाणिज्य संघको ३०औं स्थापना दिवस तथा २९औं वार्षिकोत्सव कार्यक्रमलार्इ सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । मन्त्री रिमालले उद्योग, व्यापार र उद्यमशीलता विना कुनै पनि राष्ट्रको आर्थिक समृद्धिको परिकल्पना गर्न नसकिने बताईन ।

“उद्योग र व्यापारको विकास विना प्रदेशको विकासको परिकल्पना गर्न सकिँदैन,“उनले भनिन्, “त्यसकारण सरकार निजी क्षेत्रलाई जहिले पनि सम्मान गर्द समस्या समाधान तर्फ उन्मुख रहन्छ ।“ कार्यक्रममा मन्त्री रिमालले सरकारले निजी क्षेत्रका कुरा पर्याप्त रूपमा सुन्ननसकेको यथार्थ खुलेर स्वीकार गरिन् ।

नीति निर्माणमा निजी क्षेत्रलाई चाहिने सहजता दिन नसकिएको, नवीकरण प्रक्रियामा समस्या रहेको र भर्खरै वातावरण शुल्क सम्बन्धी विषयमा पनि उद्यमी व्यवसायीको इच्छा विपरीत सरकारले निर्णय लिएको उनले स्वीकार गरिन् । यद्यपि यस्ता विषयलाई निजी क्षेत्रसँग छलफल गरेरै र निजी क्षेत्रको चाहना अनुसार अगाडि बढाइने प्रतिबद्धता जनाइन् ।

लगानीको वातावरण तयार गर्ने दायित्व सरकारकै भएको उद्योगी व्यवसायीहरूको माग जायज रहेको बताउँदै मन्त्रीले भनिन्, “नीति निर्माण गर्दा उद्यमी व्यवसायी साथीहरूको हक र हितका निम्ति उहाँहरूको लगानी सुरक्षित हुने खालको नीति निर्माण गर्नुपर्छ ।“

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung