बागलुङ। लगातारको वर्षापछि खसेको पहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड शुक्रबार साँझदेखि पुनः सञ्चालनमा आएको छ।
जैमिनी नगरपालिका–८ छिस्तीस्थित भुनेवा चौरीखोला पुल नजिक गत शुक्रबार खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। निरन्तर वर्षा, लेदो र ढुंगा खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउने कार्यमा कठिनाइ भएको थियो।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार पहिरो हटाएपछि शुक्रबार साँझदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।
सडक खुलेसँगै बागलुङको दक्षिणी भेग पुनः सडक सञ्जालसँग जोडिएको छ भने जनजीवन पनि क्रमशः सामान्य बन्दै गएको छ।
पहिरोका कारण बेलबगर क्षेत्रमा रोकिएका यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्।
सडक डिभिजन कार्यालयको समन्वयमा तीन वटा जेसीबी परिचालन गरी पहिरो हटाइएको थियो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार पहिरो ठूलो र जटिल प्रकृतिको भएकाले सडक खुलाउन अपेक्षाकृत बढी समय लागेको हो।
उनले हाल तीनवटा मेसिनमार्फत थप सफाइ तथा चौडाइको काम भइरहेको र सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास जारी रहेको जानकारी दिए ।













































































































































































































