बागलुङ । ढोरपाटन राष्ट्रिक दैनिकको २४औँ वार्षिकोत्सवका अवसरमा बागलुङका छ जना पत्रकारसहित आठ जना सम्मानित भएका छन् ।
वार्षिकोत्सवका अवसरमा नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, नेपाल टेलिभिजनका बागलुङ संवाददाता किरण आचार्य, धौलागिरि एफएमका सहसम्पादक कोपिला कँडेल, खोजीनितीका सम्पादक उषा पौडेल, ढोरपाटनका सम्पादक रञ्जिता शर्मा र जागरण दैनिकका सम्पादक सिर्जना पन्तलाई टिका-विद्या स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।
उनीहरूलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द नेपाली, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, ढोरपाटन राष्ट्रिक दैनिकका प्रधान सम्पादक हरिनारायण गौतम र समाजसेवी सहदेव राजभण्डारीले नगद १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका थिए ।
टिका विद्या स्मृति पत्रकारिता पुरस्कार विसं २०७१ सालदेखि २०८१ सालसम्म विभिन्न वर्षमा छ जना पत्रकारलाई प्रदान गरिएको हो।
धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयकी पूर्वप्रधानाध्यापक कृष्णमाया राजभण्डारीले आफ्ना बुबा टिकाबहादुर राजभण्डारी र आमा विद्यालक्ष्मी राजभण्डारीको स्मृतिमा ढोरपाटन राष्ट्रिक दैनिकमार्फत वितरण हुने गरी टिका विद्या स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेकी हुन् ।
कार्यक्रममा ढोरपाटन दैनिकका संवाददाता अनिष पाठक र कर्मचारी नलबहादुर थापा मगरलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द नेपाली, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, गण्डकी प्रदेशसभाका पूर्वसदस्य इन्द्रलाल सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अविरल’, नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइका अध्यक्ष गीता श्रीष, सम्मानित व्यक्तित्व मुकेशचन्द्र राजभण्डारी, साहित्यकार काजी रोशनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी सम्पादक रामकृष्ण बोहरा र संवाददाता अनिष पाठकले सञ्चालन तथा समाचार सम्पादक फडिन्द्र अधिकारीले स्वागत गरेका थिए ।
















































































































































































