बागलुङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बागलुङको गलकोट नगरपालिकाले रु. ६ लाख ७० हजार राहत स्वरुप सहयोग पठाउने निर्णय गरेको छ ।
बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै गलकोट नगरपालिका, जनप्रतिनिधि र कर्मचारीको तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । उक्त रकम सरकारको कोषमा जम्मा गरिने छ ।
नगरप्रमुख भरत शर्मा गैरेको संयोजकत्वमा बिहीबार बसेको आकश्मिक बैठकले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डम्मर जिसीले जानकारी दिनुभयो ।
विपद्को यस कठिन घडीमा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, सामाजिक संघसंस्था, राजनीतिक दल, निजी क्षेत्र तथा नागरिकबीच सहकार्य र मानवीय सहयोग गर्न अपिल समेत गरिएको छ ।
















































































































































































