१५ भाद्र २०८३, सोमबार

 

सुन्धारा होटल व्यवसायी संघद्वारा बाढीपीडितका लागि १ लाख २१ हजार सहयोग

बागलुङ । काठमाडौंको सुन्धारा होटल व्यवसायी संघले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरेको छ।

संघले आइतकार बाढीपीडितका लागि १ लाख २१ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको संघका अध्यक्ष देवीप्रसाद कँडेलले नयाँ विश्वलाई जानकारी दिनुभयो।

संघकी उपाध्यक्ष सरिता शेरचनले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाअन्तर्गत बाढीपीडितलाई सहयोग गरिएको बताउनुभयो।

विपत्तिको समयमा देश–विदेशका नागरिक तथा विभिन्न संघ–संस्थाले आर्थिक तथा राहत सामग्रीमार्फत सहयोग गरिरहेका बेला प्रभावित नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले संघले सहयोग गरेको उहाँको भनाइ छ।

संघका महासचिव विष्णुप्रसाद घिमिरेले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताउनुभयो। उहाँले मानवीय सेवाका क्षेत्रमा संघले आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।

कोषाध्यक्ष दीपक केसीले दैवी प्रकोपका बेला संघले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो।

प्राकृतिक विपत्तीका जनधनको ठुलो क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको यस संकटको बेला देशको सबै व्यवसायी एक जुट भएर सहयोग अभियानमा जुटेको सचिव नारायण प्रसाद अधिकारीले बताउनुभयो ।

बाढी प्रभावित नागरिकलाई उच्च महत्व दिएर उद्धार तथा राहत कार्यमा सहयोग पुगोस भनि आर्थिक सहयोग प्रदान गरिएको निर्वतमा अध्यक्ष बुद्धि बहादुर बस्नेतको भनाई थियो ।

बाढीका कारण अकल्पनिय जनधनको क्षति भएपछि सर्वसाधारण नागरिक, उद्योगी–व्यवसायी, संघ–संस्था तथा अन्तर्राष्ट्रिय दाताले सहयोग रकम पठाउन थालेका छन् । यससँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६ अर्ब ५५ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ ।

गत १० भदौमा चीनको तिब्बततर्फबाट आएको विनाशकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती प्रभावित भएका थिए। बाढीबाट रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung