बागलुङ । लायन्स क्लब अफ बागलुङले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले ३२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएका बेला क्लबले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो।
रकम हस्तान्तरण गर्दै क्लबका अध्यक्ष भुपेन्द्र केसीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको बताउनुभयो।
क्लबका एक्जुकेटिभ चिफ एडभाइजरद्वय दुर्गा कुँवरले प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको संकटपूर्ण अवस्थामा देशभरका लायन्स क्लब एकजुट भएर राहत तथा सहयोग अभियानमा जुट्नुपर्ने बताउनुभयो।
कार्यक्रम क्लबका अध्यक्ष भुपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।
बाढीबाट अकल्पनीय जनधनको क्षति भएपछि सर्वसाधारण नागरिक, शिक्षक, कर्मचारी, उद्योगी–व्यवसायी, संघ–संस्था तथा विभिन्न दाताले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्।
गत १० भदौमा चीनको तिब्बततर्फबाट आएको विनाशकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती प्रभावित भएका थिए। बाढीका कारण रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।
















































































































































































