१५ भाद्र २०८३, सोमबार

 

बागलुङ होटल व्यवसायी संघद्वारा बाढीपीडितका लागि १ लाख ४५ हजार सहयोग

बागलुङ । बागलुङ होटल व्यवसायी संघले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको उद्धार र राहतका लागि रु. १ लाख ४५ हजार १ सय सहयोग गरेको छ।

संघले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी होटल व्यवसायी संघकी कोषाध्यक्ष सविता आचार्यले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरेको हो।

भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको संघकी उपाध्यक्ष ललिता थापाले बताउनुभयो।

संघका वरिष्ठ उपाध्यक्ष तालबहादुरले विपद्को कठिन परिस्थितिमा सहयोग गर्ने सम्पूर्ण होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई धन्यवाद दिँदै पीडित परिवारको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले बाढीपीडितको सहयोगका लागि एकजुट भएर जुट्न सबैलाई आह्वान गर्नुभयो।

सहयोग हस्तान्तरण कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, सदस्य सुदिप सागर कँडेल, नेपाल रेडक्रस सोसाइटी बागलुङको उपसभापति राजेन्द्र आचार्य, बागलुङ होटल व्यवसायी संघकी सचिव कविता बस्नेत, कोषाध्यक्ष सविता आचार्यको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले संघबाट प्राप्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung