२० भाद्र २०८३, शनिबार

 

कृष्ण जन्माष्टमीमा बागलुङ बजारमा बाल गोपालको रथयात्रा

बागलुङ । कृष्ण जन्माष्टमीको अवसरमा शनिबार बागलुङ बजारमा भगवान बाल गोपालको रथयात्रा निकालिएको छ। लक्ष्मीनारायण मन्दिरबाट निकालिएको बाल गोपालको रथलाई बागलुङ बजारका विभिन्न चोक तथा टोल परिक्रमा गराइएको हो।

बाल गोपालको रथलाई धिमेबाजासहित बजारका विभिन्न स्थानमा परिक्रमा गराउँदै भक्तजनले पूजाआजा तथा दर्शन गरेका थिए। रथयात्रामा स्थानीय श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो।

लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीका अनुसार कृष्ण जन्माष्टमीको अवसरमा हरेक वर्ष बाल गोपालको रथयात्रा निकालिँदै आएको छ। धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन रथयात्रा आयोजना गरिएको उहाँले बताउनुभयो।

बागलुङ नगरपालिका–३ नारायणचोकमा रहेको लक्ष्मीनारायण मन्दिरको स्थापना विसं १९८३ मा तत्कालीन संस्कृतिकर्मी टेकनारायण भारी, बहुदप्रसाद भारी (मानकाजी भारी) र अश्विनीकुमार वझान्थाछेले गर्नुभएको थियो।

मन्दिर स्थापना भएको १२ वर्षपछि विसं १९९५ मा लक्ष्मीनारायण मन्दिरमा भगवान बाल गोपालको प्राणप्रतिष्ठा गरिएको थियो। त्यसयता कृष्ण जन्माष्टमीका अवसरमा बाल गोपालको पूजा, आराधना तथा रथयात्रा निकाल्ने परम्परा रहँदै आएको बताइएको छ।

बागलुङको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको लक्ष्मीनारायण मन्दिरमा कृष्ण जन्माष्टमीका दिन विशेष पूजाआजा हुने गर्दछ।

रथयात्राले पुरानो धार्मिक तथा सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung