बागलुङ । कालिगण्डकी आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई तनाव व्यवस्थापन तथा सकारात्मक सोचसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले ‘तनाव व्यवस्थापन विषयक अन्तरक्रियात्मक कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा ‘खुसी मन’ बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्यले तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
उहाँले विद्यार्थीमा तनाव उत्पन्न हुने कारण, त्यसका प्रभाव तथा तनावलाई सकारात्मक रूपमा व्यवस्थापन गर्ने विभिन्न उपायबारे सहजीकरण गर्नुभएको थियो। नियमित दिनचर्या, पर्याप्त आराम, सकारात्मक सोच, आफ्ना कुरा व्यक्त गर्ने बानी तथा समस्या समाधानमा केन्द्रित हुने अभ्यासले तनाव व्यवस्थापनमा सहयोग पुग्ने उहाँले बताउनुभयो।
विद्यार्थीहरूले आफ्ना समस्या तथा तनावलाई आफूभित्रै दबाएर राख्नुभन्दा शिक्षक, अभिभावक तथा विश्वासिला व्यक्तिसँग खुलेर छलफल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। विद्यालयका शिक्षक जीवननाथ शर्माले सकारात्मक सोचसम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
उहाँले परिस्थितिलाई हेर्ने दृष्टिकोणले व्यक्तिको व्यवहार र कार्यक्षमतामा प्रभाव पार्ने बताउँदै कठिन अवस्थामा पनि सकारात्मक सोचका साथ अघि बढ्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। त्यस्तै, खेलकुद शिक्षक महेन्द्र खड्काले तनाव व्यवस्थापनमा खेलकुदको भूमिकाबारे प्रकाश पार्नुभएको थियो।
उहाँले शारीरिक गतिविधि तथा खेलकुदले विद्यार्थीको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो। कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव बालकृष्ण शर्माले विद्यार्थीहरूको शैक्षिक जीवनसँगै उनीहरूको मानसिक तथा भावनात्मक पक्षलाई सुदृढ बनाउन तनाव व्यवस्थापन र सकारात्मक सोचको आवश्यकता रहेको बताउनुभयो।
शर्माले विद्यार्थी जीवनमा आउने विभिन्न चुनौती र दबाबलाई सही ढंगले व्यवस्थापन गर्न सक्नुपर्ने बताउँदै विद्यार्थीको सफलता केवल परीक्षामा प्राप्त गर्ने अंकले मात्र निर्धारण नहुने धारणा व्यक्त गर्नुभयो। मानसिक रूपमा स्वस्थ, अनुशासित र सकारात्मक सोच भएको विद्यार्थीले जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न सहज हुने उहाँको भनाइ थियो।
कार्यक्रममा नेशनल प्याब्सन गण्डकी प्रदेश सचिव निशान खड्का र नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष सुवास आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले विद्यार्थीको व्यक्तित्व विकासमा सकारात्मक सोच र मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।
विद्यालय तहबाटै विद्यार्थीलाई जीवनका चुनौती सामना गर्न आवश्यक सीप प्रदान गर्नुपर्नेमा जोड दिँदै पढाइसँगै यस्ता जीवनोपयोगी कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रम विद्यालयका संस्थापक निरञ्जनलाल राजभण्डारीको अध्यक्षता, भाइस प्रिन्सिपल बाबुल शर्माको स्वागत तथा शिक्षक केदार पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
















































































































































































