बागलुङ । बागलुङ नगरपालिका–४, कुँडुले भुजेलचौरदेखि कालीगण्डकी नदीको तटसम्म पुग्ने पैदल मार्ग निर्माण कार्यको आज शिलान्यास गरिएको छ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस मार्गलाई व्यवस्थित बनाउने उद्देश्यले निर्माण कार्य अघि बढाइएको हो। भुजेलचौर–कालीगण्डकी मोक्ष मार्गको आईतबार स्वामी ऋषि प्रपन्नाचार्यले शिलान्यास गर्नुभयो।
सो अवसरमा बोल्दै स्वामी ऋषि प्रपन्नाचार्यले कालीगण्डकी नदी हिन्दू धर्मावलम्बीहरूका लागि धार्मिक तथा आध्यात्मिक दृष्टिले महत्त्वपूर्ण रहेको र कुँडुले एक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भएकोले पवित्र कालीगण्डकीसँग जोड्न अति आवश्यक रहेको बताउनु भयो ।
नदीमा स्नान गर्न तथा विभिन्न धार्मिक संस्कार पूरा गर्न जाने श्रद्धालुका लागि सहज पहुँच स्थापना गर्नुको साथै पदमार्ग निर्माण सम्पन्न भएपछि स्थानीयवासी, श्रद्धालु तथा अन्य आगन्तुकलाई आवतजावतमा सहज हुने बताउनु भयो।
स्थानीयवासी तथा विदेशमा रहेका प्रवासी नेपालीहरूको आर्थिक सहयोगमा उक्त पैदल मार्ग निर्माण गर्न लागिएको भुजेलचौर कालीगण्डकी मोक्ष मार्ग निर्माण उपभोक्ता समितिले जनाएको छ।
उपभोक्ता समितिका अध्यक्ष खिमलाल सापकोटाका अनुसार कालीगण्डकी नदीमा स्नान गर्न जाने श्रद्धालु तथा स्थानीयवासीको सहजताका लागि पदमार्ग निर्माण गर्न लागिएको हो।
विशेषगरी मानिसको मृत्यु हुँदा अन्तिम संस्कारसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक कार्यका लागि कालीगण्डकी नदीतर्फ जाने बाटो जीर्ण बनेपछि त्यसलाई व्यवस्थित र सहज बनाउन पदमार्ग निर्माणको पहल गरिएको उहाँले बताउनुभयो।
१२ सय मिटर पदमार्ग ढलान सहित पक्की बनाउन करिव ५० लाख लागत लग्ने अनुमान गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो ।
स्थानीय तथा विदेशमा रहेका प्रवासीहरूको आर्थिक सहयोगमा गर्न सरु गरेको र हाल सम्म ३ लाख रकम शंकलन भैसकेको र सवै क्ष्क्षेत्रबाट सहयोग आउन अपेक्षा सहित काम सुरु गर्रिको वडा सदस्य अर्जुन सापकोटाले बताउनु भयो।
धार्मिक आस्था र स्थानीय आवश्यकतालाई जोड्दै अघि बढाइएको यस अभियानले भुजेलचौर क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको सापकोटाको भनाई छ ।
मोक्ष मार्गलाई केवल आवतजावत गर्ने बाटोका रूपमा मात्र नभई धार्मिक पर्यटनको प्रवर्द्धन, मौलिक संस्कृति तथा परम्पराको संरक्षण र स्थानीय क्षेत्रको विकाससँग जोडेर अघि बढाउने लक्ष्य राखिएको छ।
पदमार्ग व्यवस्थित भएपछि कालीगण्डकीसँग जोडिएका धार्मिक गतिविधिलाई सहज बनाउनुका साथै यस क्षेत्रको महत्त्वलाई थप उजागर गर्न सकिने अपेक्षा गरिएको समितिका उपाध्यक्ष दयाराम सापकोटाले बताउनु भयो।
‘मोक्ष मार्ग धार्मिक पर्यटन, संस्कृति, संरक्षण र समृद्धिको मार्ग’ भन्ने अवधारणासहित अघि बढाइएको यस अभियानले स्थानीयवासीको धार्मिक आवश्यकता पूरा गर्न र भुजेलचौर क्षेत्रको सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
















































































































































































